चितवन विशेष
माडीका मेयरले आँट नगरेपछि वडा अध्यक्ष बसे अनशन

चितवन, फागुन ७–
माडी नगरपालिकाका नगर प्रमुख ठाकुर ढकाल आमरण अनशन नबसेपछि वडा अध्यक्ष नै अनशन बसेका छन् ।
नगर प्रमुख ढकालले अपरान्ह विज्ञप्ती जारी गर्दै तत्कालका लागि आमरण अनशन नबस्ने घोषणा गरेलगत्तै वडा नं.१ का वडाध्यक्ष कृष्ण पौडेल आमरण अनशन बसेका हुन् । माडीबासीको तर्फबाट भन्दै वडा अध्यक्ष पौडेल आज साझबाट अनशन बसेका हुन् । उनी बरुबा बजारमा रहेको वडा कार्यालयको अगाडि पट्टी चौतारामा अनशन बसेका हुन् ।
‘मेयर साबले म तत्काल बस्दिन भनेपछि कोही न कोही त आवाज उठाउनै पर्यो, माडीको पीडा देखेरै म अनशन बसेको हुँ’–वडा अध्यक्ष पौडेलले नारायणी अनलाईनसंग भने । वडाध्यक्ष पौडेलसंगै वडा सदस्यहरु समेत अनशन बसेका छन् भने स्थानीयहरुले साथ दिएका छन् । वडा अध्यक्ष पौडेलले माडीबासी जहिल्यै पीडा मात्रै खेपेकाले बाध्य भएर अनशन बस्नु परेको बताए । अनशन बसेका वडा अध्यक्ष पौडेल नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् ।
आमरण अनशन स्थलमा माडीबासी जनताहरुको तर्फबाट भन्दै प्रतिनिधिमुलक सात वटा माग पेश गरिएको छ । जसमा राष्ट्रिय निकुञ्ज सम्बन्धि २०२९ को विनियम संशोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) नियमावली २०७६ ले माडी जस्तो बहुउपेक्षित क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानव अधिकार सहितको संरक्षण (जनपक्षीय)का लागि पुनः संशोधित हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, मावन वन्यजन्तु निवारणका लागि ठोस रुपमा वन र बस्तीबीच बैज्ञानिक संरचना बनाउनु पर्ने साथै उत्तरी सिमानामा पर्ने रीउ खोला करिडोरको निर्माण व्यवस्थित हुनुपर्ने, लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपुर्ती व्यवस्थापन हुनुपर्ने रहेको छ ।
यस्तै कसरादेखि बनकट्टा साथै बगहीँदेखि बाँदरझुलासम्मको बाटो पूर्ण रुपमा स्तरोन्नती गरी चौविसै घण्टा आवातजावत हुनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटनको हबको रुपमा विकास गर्न विशेष योजना हुनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्ण रुपमा स्थानीय निकायको अधिकार हुनुपर्नेलगायतका माग रहेका छन् ।
माडीबासीको मागको बारेमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत आवाज उठाउँदै आएका छन् । तर उनले माडीबासीको माग पुरा गराउन सकेका छैनन् । यही विषयलाई लिएर नगर प्रमुख ठाकुरप्रसाद ढकाल बुधबारबाट अनशन बस्ने तयारी गरेका थिए । तर अन्तिम समयमा आएर उनले वार्ता र संवादको माध्यमबाट माग सम्बोधनको तयारी भइरहेको भन्दै आमरणश अनशन तत्कालका लागि स्थगित गरेका थिए ।
























