समाज
इतिहासमै पहिलोपटक सेना लिएर कालापानी जाँदै रक्षामन्त्री पोखरेल

दार्चुला,फागुन ४-
उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय सेनाको कब्जामा रहेको दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर नक्सा सच्याउने मात्र होइन भूमि नै फिर्ता ल्याउन लागेको जानकारी गराएका बेला उपप्रधानमन्त्री पोखरेलको टिमलाई कालापानी पठाउन लागिएको हो । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उनी कालापानी क्षेत्रको भ्रमणमा जाने बताइएको छ ।
उनी नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत सहभागिता हुनेछन् ।
उनले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरिन लागेको हो । नेपाली सेनाको उच्च अधिकारीले भने समयसमयमा व्यारेकको निरीक्षण गर्दै आएका छन् । काठमाडौँबाट आज बिहान उड्ने सेनाको हेलिकप्टर दिपायलस्थित नेपाली सेनाको पृतना हेडक्वाटर भएर दार्चुला आउनेछ ।
भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहने जनाइएको छ ।

























