गण्डकी
आगलागीले ६६ वर्षीय पदमको खुशी लुटियो

देवघाट (तनहुँ), फागुन १–
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ नाल्बुङ्ग बस्तीका ६६ वर्षीय वृद्ध पदम गुरुङ अहिले पीडामा छन् । गत माघ २८ गते भएको एउटा सानो घरमा पनि आगलागीले भएपछि उनी पीडामा छन् । आगलागीले उनको घर पूर्णरूपमा नष्ट भएको छ। साँझ करिव ५ बजेतिर लागेको आगो समयमै निभाउन नसक्दा घर पुरै खरानीमा परिणत भयो ।
बृद्ध पदमको आर्थिक अवस्था समेत कमजोर रहेको छ । उनी आगलागीको घटना गहभरी आँशु झार्दै सुनाए । उनले भने–‘घरमा खाना बसालेर बाख्रा गोठमा पुगे, फर्किदा घरमा आगोको मुस्लो बल्न थाल्यो, क्षणमा घर पुरै खरानी भयो ।’ सामान्य घामपानी छेक्ने खरको झुपडी घर पनि नष्ट भएपछि अब बास बस्नै समस्या भएको गुरुङ बताउँछन् ।
घटनाबारे थाहा पाएपछि तत्काल देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले गाउँपालिकाको तर्फबाट गुरुङलाई भाडाकुडा, चामल, दाल, तेल, नुन लगायत खाद्यान्नसंगै त्रीपाल प्रदान गरेका छन्। त्यस्तै देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकुबहादुर गुरुङले पनि व्यक्तिगत १ बोरा चामल, २ लिटर तेल प्रदान गरेका छन् ।
गुरुङको परिवारमा ५५ वर्षीया श्रीमती भविसरासहित नका २ छोराहरुसंगै बस्दै आएका छन्। आगलागिबाट करिब ६ लाख बराबरको क्षति भएको इकाई प्रहरी कार्यालय साराङ्गघाटका प्रहरी इन्चार्ज बुद्धि तामाङले जानकारी दिए ।
























