समाचार
गच्छदारको बचाउमा संसद अवरुद्ध गरेको कांग्रेसले आजदेखि चल्न दिने

काठमाडौँ, माघ २८–
प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा गरेको अवरोध मंगलवारदेखि खुलाउने भएको छ ।
बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सत्ता पक्षका नेतालाई चोख्याएको तथा कांग्रेसका नेतालाई मुद्दा चलाएको विरोधमा कांग्रेसले गएको बुधबारदेखि संसद बैठक अवरुद्ध गर्दै आएको थियो ।
बालुवाटार जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारमाथि मुद्दा लागेको छ । त्यसको विरोधमा कांग्रेसले बुधबार, शुक्रबार र आइतबार संसद बैठक अवरुद्ध गरेको थियो । संसदमा गच्छदारलाई मुद्दा चलाएको विरोध गरेको कांग्रेसले बाहिर सडकमा अख्तियार पूर्वाग्रही बनेको भन्दै आन्दोलन गर्दै आएको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सदनको अवरोध अन्त्य गर्ने निर्णय गरेको हो । मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा आफ्नो कुरा व्यक्त गरेर अवरोध हटाउने निर्णय कांग्रेस संसदीय दलले गरेको हो ।
बालुवाटार जग्गा प्रकरणमा दोषी पाइएको भन्दै तत्कालीन भौतिक पूर्वाधारमन्त्री गच्छदारलगायत अन्य १ सय ७५ जना विरुद्ध अख्तियारले माघ २२ गते मुद्दा दायर गरेको हो ।


























