विशेष

चीनको वुहानबाट नेपालीलाई फर्काइँदै, प्रधानमन्त्री भन्छन् – राख्ने स्थानको व्यवस्था गर्नु

Banner

काठमाडौँ, माघ १९-

कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

कोरोना भाइरसको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तको वुहानसहितका सहरबाट भारत, बंगलादेश, श्रीलंकाले आफ्ना नागरिक फिर्ता लैजान थालेपछि नेपाल सरकारले पनि ल्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले चीनबाट फर्काइने नेपालीलाई राख्ने स्थानको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

उनीहरूलाई कहाँ राख्ने, कसरी सम्बोधन गर्ने भन्ने विषयमा बढी केन्द्रित हुन र चीनमा रहेका नेपालीबारे पनि नियमित जानकारी लिन प्रधानमन्त्री ओलीले भनेका हुन् । यसबारे उनले स्वास्थ्य, परराष्ट्र, गृह, रक्षा, पर्यटनलगायत सरोकारवाला मन्त्रालयका मन्त्री एवं सचिवहरूलाई एकै स्थानमा राखेर छलफल गरेका थिए । उनले चीनमा कोरोना भाइरसको महामारी र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका थिए ।

नेपालीलाई फर्काउन प्रक्रिया सुरु भएपछि प्रधानमन्त्रीले क्वारेन्टाइन चेक, अस्पितालमा राख्न पर्दाको अवस्था तथा उच्च सतर्कताको तयारीलगायत विषयमा चासो देखाएका हुन् । विमानस्थलमा तयारीलगायत विषयमा पनि उनले जानकारी लिँदै सुधार र उच्च सतर्कताका लागि निर्देशन दिए ।

‘हाम्रो सुरक्षा तयारी र त्यहाँ (चीनमा) रहेका नेपाली नागरिकको अवस्थाबारे प्रधानमन्त्रीले बुझ्नुभयो’, बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने, ‘त्यसपछि गर्नुपर्ने तयारीबारे सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।’

चीनमा रहेका नेपालीको पीडा थाहा पाएपछि प्रधानमन्त्रीले बैठक राखेका हुन् । चीनबाट नेपालीहरू तत्काल नेपाल फर्किन खोजे पनि यहाँबाट चासो नदिइएको धारणा आएपछि प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीहरूलाई आफ्ना नागरिकप्रति जिम्मेवार रहन निर्देशन दिएका हुन् ।

उनले चीनले सतर्कता अपनाएको भए पनि आफ्ना नागरिकबारे चासो राख्ने निकाय दूतावास हो त्यहाँ रहेको दूतावासले यसमा काम गर्न आवश्यक छ भन्दै परराष्ट्रमन्त्री र सचिवसँग त्यहाँको अवस्था सोधेका थिए । उनले चीनमा परेको संकटप्रति दुःख व्यक्त गर्दै छिटो यसको निदान होस् भन्ने कामना गरे । आफ्ना नागरिकलाई चीनले गरेको रेखदेखप्रति खुसी व्यक्त गर्दै उनले आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्थामा जुट्न पनि निर्देशन दिए।

उनीहरूलाई स्वदेश ल्याउँदा के गर्नुपर्ने हो र ल्याएर १४ दिनसम्म कहाँ राख्ने त्यो तय गर्न उनले निर्देश गरे ।

नेपाली जहाज कहिले जाने, नेपालीलाई लिन कतिजनाको मेडिकल टिम जाने, को–को जाने भन्ने विस्तृत विवरण चीनले मागेको छ । नेपालले चिनियाँ सर्तअनुसारको तयारी सुरु गरेको छ ।

विश्व स्वास्थ्य संगठनले बिहीबार मात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ । संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन् ।

मंगोलिया, रसियाले सीमानाका बन्द गरेका छन्, र पपुवा न्यूगिनीले एसियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउने जोसुकै व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ ।

हाल कोरोना भाइरसको फैलने दरमा कमी आएको छ, तर पूर्ण रुपमा रोकिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>