इच्छकामना
सांसद पोखरेलले पुरा गरे बाचा,चितवनको हात्तीबाङमा पहिलोपटक विजुली बल्यो

चितवन,माघ १५-
चितवनको इच्छाकामना गाउँपालिका १ हात्तीबाङमा पहिलोपटक विजुली बलेको छ । प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलको पहलमा सो क्षेत्रमा विजुली बलेको हो । हात्तीबाङमा आयोजित कार्यक्रम मार्फत बत्ती बालेर सांसद पोखरेलले बुधबारदेखि गाँउ झिलिमिली भएको बताए ।
धादिङको जोगिमारा हुँदै पुगिने चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीबाङमा बिजुलीको पोल गाडेर तार टाँगिएको झण्डै छ बर्षपछि विजुली बलेको छ । चितवनतर्फबाट विद्युत लैजान समस्या भएपछि धादिङबाट तार विस्तार गरेर सो क्षेत्रमा विजुली बालिएको सांसद पोखरेलले जानकारी दिए ।
सांसद विकास कोषको ६० लाख र राज्यको अन्य स्रोतबाट ४० लाख गरी एक करोडको लागतमा विजुली बाल्न सफल भएको उनले बताए । उनले निर्वाचनको वेला जनतासंग गरेको बाचा अनुरुप काम गरेको प्रतिकृया दिए । विजुली बल्न बाँकी क्षेत्रहरुमा पनि छिट्टै विजुली पु¥याइने उनले प्रतिबद्धता जनाए ।
गाउँमा विजुली बलेपछि स्थानिय खुसी भएका छन् । स्थानीयवासी मानबहादुर मगर भन्छन्, “बिजुली आउँछ भन्ने लागेको थिएन, आज विजुली बलेको देख्दा निकै खुसी छु ।” उहाँले अगाडि थपे, “ सांसदले गरेको बाचा बल्ल पुरा गरे ।”

विसं २०७० मा विद्युत् विस्तार समिति बनेर यहाँ बिजुली बाल्नका लागि कामको शुरुआत भयो । त्यसलगत्तै प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले सांसद विकास कोषबाट प्रदान गरेको १५ लाख रुपैयाँमा पोल गाडिएको थियो । त्यसको एक वर्षपछि सांसद विकास कोषमार्फत नै थप २० लाख रुपैयाँ बजेटले विद्युत् प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रबाट तार समेत जोडियो । तार र पोल राख्ने सबै काम टाँडीले नै ग¥यो तर बिजुली बाल्ने काम भने गरेन । भौगोलिक हिसाबले धादिङसँग जोडिएको यस क्षेत्रमा रत्ननगरले प्राविधिक कारण देखाउँदै विद्युत् जोड्न इच्छा देखाएन । धादिङ कार्यालयबाट बत्ती जोड्न माग गर्दा उसले पनि विभिन्न कारण देखाउँदै अल्झाएपछि बत्ती बाल्न समस्या भएको थियो ।
इच्छाकामना गाउँपालिका–१ का वडाध्यक्ष नन्दलाल गिरीले धेरै प्रयास गर्दा पनि विभिन्न कारणले समयमै बत्ती बाल्न नसकिएको बताए । उनले भने, “हामीले धेरै प्रयास ग¥यौं, धादिङ र टाँडीको खिचातानीले समस्या भयो ।” विसं २०७० मा विद्युत् विस्तार समिति बन्दा गिरी नै यसको अगुवा थिए ।
सडक र बत्तीको समस्या समाधान भएपछि स्थानीयवासीले विकासको महसुस गरेका छन् । बत्ती नहुँदा उनीहरु सौर्य बत्ती र टुकीको भरमा बाध्य थिए । स्थानीयवासी भीमबहादुर चेपाङले बलेपछि बच्चाहरुलाई पढाउन सहज हुने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य घनश्याम दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेपाल विद्युत प्राधिकरण धादिङ जिल्ला वितरण केन्द्रका प्रमुख धु्रव कार्कीलगायतले विद्युतीकरणले हात्तीवाङको विकासमा ठूलो टेवा पुग्ने बताए ।
























