अन्तर्राष्ट्रिय

बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट आक्रमण, किन तीतो अमेरिका-इरान सम्बन्ध ?

Banner

चितवन, १३ माघ-

इराकको अमेरिकी राजदूतावासमा कम्तीमा तीनवटा रकेट प्रहार भएका छन् ।

इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा एउटा रकेट त्यहाँको खाना खाने स्थलमा र अन्य दुईवटा केही टाढा खसेको स्रोतले बताएको छ ।

अमेरिकाले आफ्ना एक महत्त्वपूर्ण सैन्य नेतालाई मारिदिएपछि इरानले त्यसको प्रतिशोध लिने उद्घोष गरेको छ ।

सुरक्षास्रोतले जनाएअनुसार आक्रमणमा परी कम्तीमा तीन व्यक्ति घाइते भएका छन् ।

दूतावासका कर्मचारी घाइते भएको यो पहिलो आक्रमण हुन सक्ने बताइएको छ । कुनै समूहले आक्रमणको जिम्मेवारी लिइसकेको छैन ।

इरान-अमेरिका तनावमा इराक:

केही समययता भएका आक्रमणहरूले दूतावास वा अमेरिकी सेना तैनाथ इराकी सैन्य शिविरहरूलाई निसाना बनाएका छन् ।

विगत केही हप्तादेखि चुलिएको इरान र अमेरिकाबीच तनावमा इराक पनि तानिएको छ ।

इराकका शक्तिशाली शिया नेता मोक्तदा अल-सद्रले अमेरिकी सेनालाई इराक छाड्न दबाव दिने उद्देश्यले अमेरिकाविरोधी प्रदर्शनहरू आयोजना गरेका छन् ।

के इरानसँग क्षेप्यास्त्र छ ?

क्षेप्यास्त्र इरानको सैन्य शक्तिको अभिन्न अङ्ग हो । प्रतिद्वन्द्वी इजरायल र साउदी अरबको तुलनामा उसको वायुसेनाको क्षमता कमजोर भएकाले इरानका लागि क्षेप्यास्त्रको ठूलो सामरिक महत्त्व छ ।

इरानमा पाँच लाख २३ हजार सक्रिय सैन्य सेवामा भएको अनुमान गरिएको यूकेस्थित इन्टर्न्याश्नल इन्स्टिट्यूट फोर स्ट्रटीजिक स्टडीजले जनाएको छ।

अमेरिकाको रक्षा मन्त्रालयको एउटा प्रतिवेदनमा इरानको क्षेप्यास्त्र क्षमतालाई मध्यपूर्वकै सबैभन्दा ठूलो भनेर उल्लेख गरिएको छ ।

वर्षौँदेखि नाकाबन्दी खेपेको भए पनि इरानसँग आधुनिक ड्रोनहरू छन् ।

उससँग छोटो र मध्यम दूरीका क्षेप्यास्त्रको भण्डार छ । अमेरिकी प्रतिवेदनका अनुसार इरानले लामो दूरीका अन्तरमहादेशीय क्षेप्यास्त्र विकास गर्न अन्तरिक्ष प्रविधिको पनि परीक्षण गरिरहेको छ ।

सन् २०१५ मा अन्य देशसँग गरिएको पारमाणविक सम्झौताका कारण इरानले लामो दूरीको क्षेप्यास्त्रसम्बन्धी कार्यक्रम रोकेको रोयल यूनाइटिड सर्भिसिज इन्स्टिट्यूट (रुसी) ले जनाएको छ ।

किन तीतो अमेरिका-इरान सम्बन्ध ?

अमेरिकाले आफ्ना एक महत्त्वपूर्ण सैन्य नेतालाई मारिदिएपछि इरानले त्यसको प्रतिशोध लिने उद्घोष गरेको हो ।

इरानलाई समर्थन गर्ने केही क्षेत्रीय साझेदारले इजरेल, साउदी अरब र यूएईमा इरानले उपलब्ध गराएका क्षेप्यास्त्र प्रहार गरेको प्रमाण भेटिएको छ ।

गत वर्ष मे महिनामा इरानसँग तनाव बढेपछि अमेरिकाले मध्यपूर्वमा क्षेप्यास्त्र प्रतिरोध गर्ने क्षमा भएको पेट्रिओट एन्टी-मिसाइल डिफेन्स सिस्टम पठाएको थियो ।

उक्त प्रणालीले बलिस्टिक क्षेप्यास्त्र, क्रूज क्षेप्यास्त्र र विकसित विमानलाई निष्क्रिय बनाइदिन सक्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>