क्रिकेट

क्रिकेटर महेन्द्रसिंह धोनीको अन्तर्राष्ट्रिय खेल जीवन सकिएकै हो त ?

Banner

चितवन,  माघ १२ ।

अहिले विश्वभरका क्रिकेट समर्थकको एउटै प्रश्न – भारतका सफल क्रिकेटर महेन्द्रसिंह धोनीको अन्तर्राष्ट्रिय खेल जीवन सकिएकै हो त ?

धोनी भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को ‘कन्ट्रयाक्ट लिस्ट’बाट बाहिरिएका छन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले महेन्द्रसिंह धोनीलाई नयाँ केन्द्रीय सम्झौताबाट हटाएपछि उनको अन्तर्राष्ट्रिय खेल जीवनका बारेमा प्रश्न उठेको हो ।

बीसीसीआईले २७ जना खेलाडीको नाम सार्वजनिक गर्दा त्यो सूचीमा धोनीको नाम भने राखेको छैन । उनले गत वर्षको विश्वकपपछि भारतका लागि कुनै खेल खेलेका छैनन् । उनी पोहोर बीसीसीआईको सूचीमा ‘ए ग्रेड’मा थिए । यो पटक सम्झौताको सूचीमा नपरे पनि बोर्डको मापदण्डअनुसार खेल प्रदर्शन गरेमा धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्न सक्नेछन् । त्यसका लागि उनले भारतीय घरेलु क्रिकेटमा आफ्नो पुरानो लयलाई प्रमाणित गर्नुपर्नेछ ।

विश्वकप क्रिकेटमा सहभागी भएपछि गएको ६ महिनादेखि मैदानबाट टाढिएका धोनीलाई बीसीसीआईले कन्ट्रयाक्ट लिस्टबाट हटाएको हो ।

धोनी भारतीय क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान हुन् । उनकै नेतृत्वमा भारतले सन् २००७ मा ट्वेन्टी–ट्वेन्टी विश्वकप र सन् २०११ मा एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो ।

धोनीले भारतका लागि ९० वटा टेस्ट क्रिकेटमा छ शतक र ३३ अर्धशतकसहित ४ हजार ८ सय ७६ रन, ३ सय ५० एकदिवसीय खेलमा १० शतक र ७३ अर्धशतकसहित १० हजार ७ सय ७३ रन र ९८ वटा ट्वेन्टी–ट्वेन्टी खेलमा दुई अर्धशतकसहित १ हजार ६ सय १७ रन बनाएका छन् ।

केन्द्रीय सम्झौतामा नपर्ने क्रिकेटरलाई बीसीसीआईले कुनै पनि पारिश्रमिक दिँदैन। तर, सम्झौतामा पर्नेहरूलाई भने ग्रेडअनुसार वार्षिक रूपमा पारिश्रमिक दिने गरेको छ। ए प्लस ग्रेडमा पर्नेले वर्षको सात करोेड, ए ग्रेडमा पर्नेले पाँच करोड, बी ग्रेडमा पर्नेले तीन करोड र सी ग्रेडमा पर्नेले वर्षको एक करोड भारतीय रुपैयाँ पाउने गरेका छन्।

 

कुन खेलाडी कुन ग्रेडमा ?

ए प्लसः कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह

एः रविचन्द्रन आश्विन, इशान्त शर्मा, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, केएल राहुल, अजिन्क्या रहाणे, शिखर धवन, मोहम्मद सामी, कुलदीप यादव र ऋषभ पन्त

बीः ऋद्धिमान साह, हार्दिक पान्ड्या, उमेश यादव, युजवेन्द्र चहल र मयंक अग्रवाल

सीः केदार जाधव, दीपक चाहर, नवदीप सैनी, मनीष पाण्डे, शार्दूल ठाकुर, श्रेयस ऐयर र वासिङ्टन सुन्दर

 

वार्षिक पारिश्रमिक

बीसीसीआईले वार्षिक ‘ए प्लस’लाई सात करोड, ‘ए’लाई पाँच करोड, ‘बी’लाई तीन करोड र ‘सी’लाई एक करोड भारतीय रुपैयाँ दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>