वागमती

पाँचखालमा भेटिएको ‘स्तम्भ’ प्राचीन भएको पुष्टि

Banner

राजकुमार पराजुली

काभ्रेपलाञ्चोक, माघ १०-

खोज तथा अनुसन्धानका क्रममा पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीमा फेला परेको ‘स्तम्भ’ प्राचीन भएको पुरातत्व विभागले पुष्टि गरेको छ । करीब चार महिनाअघि भेटिएको उक्त स्तम्भ प्राचीन शिखरशैली मन्दिरको मूलद्वार अघिल्तिर रहने दुई थाममध्येको एउटा खण्ड हो भन्ने अनुमान गर्न सकिने विभागले जनाएको हो ।

उक्त स्तम्भ प्राचीन भएको विभागका पुरातत्व अधिकृत प्रकाश खड्काले बताउनुभयो । उहाँका अनुसार विभिन्न अभिलेख तथा भेटिएका ऐतिहासिक सम्पदाले सुनकोशी नदी छेउछाउका मानव सभ्यता प्राचीन भएको पाइन्छ । “स्तम्भ प्राचीन शिखरशैली मन्दिरको एक हिस्सा (अवशेष)का रुपमा देखिएको छ, स्तम्भको थप अनुसन्धान एवं त्यस क्षेत्रमा थप खोज गर्नुपर्ने देखिन्छ”, उनले भने। जमीनमा गाडिएको विभिन्न आकिृतको उक्त स्तम्भको उचाइबारे थप अनुसन्धान गर्नुपर्ने उनले बताए ।

स्तम्भबाट प्राचीन समयमा मन्दिर वास्तुकलाको महत्वपूर्ण कला प्रस्तुत भएको खड्काद्वारा तयार स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “सुनकोशीको तिरैतिर कुशेश्वर जोड्ने बाटो थिायो, यस बाटोको मध्यविन्दु तिमालबेँसीस्थित सुनकोशीतिरमा एउटा मन्दिर थियो, सुनकोशी नदीको बहावले मन्दिर सयौँ वर्षअघि बगाएको थियो, अघिल्ला पुस्ताले कलात्मक प्रस्तर बोकी पिपल चौतारीमा गाडेका थिए, पिपल चौतारीबाट मन्दिर रहेको स्थान २०० मिटर पूर्वोत्तर सुनकोशीको किनारमै पर्दछ ।”

धार्मिकग्रन्थमा उल्लेख भएअनुसार स्तम्भ भेटिएको स्थान सुनकोशी नदी उत्पत्तिसँगै कौशिक ऋषिले तपस्या गरेको स्थान सुनकोशी र झिकूखोलाको दोभान तेमालबेँसी नै रहेको बताइन्छ । उक्त स्थानमा थप किराँतकालीन सम्पदा एवं सामग्री भेटिनसक्ने भएकाले पुरातत्व विभागका विज्ञ टोलीको सहभागितामा थप अनुसन्धान गरिने पाँचखाल उपत्यका पुरातत्व खोज तथा अनुसन्धान समितिका सदस्य श्रीकृष्ण धिमालले बताउनुभयो । पाँचखालका बासिन्दाले संवत् ४२५ मा मानदेव प्रथमको शासनकालमा पाँचखाल–९ पलाञ्चोकमा स्थापित पलाञ्चोक भगवती मन्दिर रहेकाले पनि यस ऐतिहासिक क्षेत्रको खोज अनुसन्धान गरी संरक्षणको माग गर्दै आएका छन् ।

यस्तै, पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुरातत्व विभागले पुष्टि गर्दै प्रतिवेदन तयार पारेको छ । उत्खननमा सहभागी पुरातत्व विभागका अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा साविक होक्से गाविस–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख गरिएको छ ।

आचार्यले उत्खननका क्रममा भेटिएका अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको बताउनुभयो । उनका अनुसार श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो । उनले भने, “उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नु आवश्यक छ ।” स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख छ ।

पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इन्चको ढुङ्गाको गारो कोठा–कोठा तथा बाहिरी भागमा पर्खाल रहेको संरचना, माटोका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिवलिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमीनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँटा भेटिएको हो । सो नगर क्षेत्रमा स्थानीय बूढापाकाले मानदेवको दरबार, रानीपोखरी, कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला परेका बारे बताउँदै आएपछि पुरातत्व विभागले उक्त स्थानमा खोज–अनुसन्धान गरेको हो ।

यसैगरी, नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालयले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ । पुरातत्व विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले गत मङ्सिर २९ गते सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन नपालाई पत्रमार्फत जानकारी गराएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>