खैरहनी
चितवनको खैरहनीमा ‘सातौं खिचरा महोत्सव–२०७६’ सुरु

चितवन, पुस २७–
पूर्वीचितवनमा आज (आइतबार)देखि सातौं खिचरा महोत्सव–२०७६ सुरु भएको छ ।
खैरहनी नगरपालिका–५ गौचरनमा सुरु भएको महोत्सवको पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले समुद्घाटन गरे । सो क्रममा बोल्दै उपसभापति गच्छदारले विभेदमा परेका समुदायको उत्थान नभएसम्म देशको उत्थान हुन नसक्ने बताए । उपसभापति गच्छदारले भने–‘समग्र जातजातिको उत्थान बिना समग्र देशको उत्थान हुन सक्दैन ।’ नेपाली काँग्रेस सबै जातजाति, वर्ग, समुदायको उत्थानमा सदैव सक्रिय रहेको भन्दै सबैको उत्थानका लागि काँग्रेस लागि परेको बताए ।
नेता गच्छदारले नेपाली काँग्रेसकै सरकारको नेतृत्वले नै संविधान निर्माण गरेको भन्दै वर्तमान सरकारलाई संविधान मिच्ने काम नगर्न आग्रह गरे । उनले संविधानको मर्म विपरीत विधेयक नल्याउन आग्रह गरे । उनले भने–‘संविधान जारी गर्नमा मेरो भूमिका पनि अह्म छ, सबैको अपनत्व हुने संविधान प्रगतिशिल छ, यसलाई बिगार्ने काम नगरियोस् ।’
समुद्घाटन समारोहमा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका जगन्नाथ आचार्य, थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरी, उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, खिचरा महोत्सव अतिथि आमन्त्रण समितिका संयोजक जोखाप्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
खिचरा महोत्सव अतिथि सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ का सभापति एवंम महोत्सव मुल समारोह समितिका संयोजक चुडामणि चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पहिलो दिन मिलन लामाको प्रस्तुती
खिचरा महोत्सवको पहिलो दिन आज चर्चित लोक दोहोरी गायक मिलन लामाले प्रस्तुती दिएका छन् । उनले ‘हमार थारु गाउँमा हावा चल्लै सर सर’ लगायत बोलका गीत प्रस्तुत गरेका थिए । महोत्सव अवधिभर विभिन्न कलाकारहरुको बेजोड प्रस्तुती रहने छ ।
माघ ८ गतेसम्म चल्ने महोत्सवमा १५० वटा स्टलहरु रहेका छन् ।
























