खैरहनी

चितवनमा सातौं खिचरा महोत्सव भोलिदेखि, विजय गच्छदारले समुद्घाटन गर्ने

Banner

चितवन, पुस २६–

थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा आयोजना हुँदै आइरहेको सातौं सँस्करणको ‘खिचरा महोत्सव–२०७६’ भोलि (आइतबार)देखि सुरु हुँदैछ ।

पूर्वीचितवनको खैरहनी नगरपालिका–५ गौचरनमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म संचालन हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए ।

महोत्सवको एक भव्य समारोहकाबीच पूर्व उपप्रधानमन्त्री एवंम नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवको समुद्घाटन अघि वृहत शोभा यात्रा निस्किने छ । खैरहनी नगरपालिका वडा नं.८ मगनीचोकदेखि महोत्सव परिसरसम्म विविध जातजाति, संघसंस्थाका झाँकी एवंम भेषभुषासहितको शोभा यात्रा निस्किने प्रचारप्रसार समितिका संयोजक राजु चौधरीले जानकारी दिए ।

त्यसलगत्तै दिउँसो १२ बजे महोत्सवको भव्य समुद्घाटन गरिने छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले महोत्सव आयोजना गरेको हो । यस महोत्सवको मुख्य उद्देश्य थारु समुदायको सँस्कृतिको संरक्षण गर्नु रहेको आयोजकको भनाई छ । सोही अनुरुप महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा हितको साँस्कृतिक कार्यक्रमलाई जोड दिईएको साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए । उनले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतीका साथै मिस नेपालद्धारा थारु भेषभुषासहितको पहिरनमा मेला अवलोकन, मिस्टर एण्ड मिस थारुको फेसन शो र खुल्ला नृत्य प्रतियोगिता राखिएको जानकारी दिए ।

महोत्सवमा यसवर्ष १५० वटा स्टर रहने छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहने आयोजकले जनाएको छ ।

यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले जनाएको छ । यस्तै महोत्सवमा बाल उद्यान, मोटर बोटिङको व्यवस्था समेत गरिएको छ ।

यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका जस्तै ५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको आयोजकले जनाएको छ । चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>