चितवन विशेष
स्वास्थ्य बिमाबारे भएको वक्तृत्वकला प्रतियोगितामा कोपिला पहिलो

चितवन, पुस १३ –
भरतपुरको श्री मेडिकल तथा टेक्निकल कलेजले ‘स्वास्थ्य बिमाको महत्व र प्रभावकारिता’ बारे आज गरेको वक्तृत्वकला प्रतियोगितामा कोपिला पौडेल पहिलो भएकी छन् ।
त्यसैगरी प्रतियोगितामा सोनी धरेल दोस्रो र अनुपा खनाल तथा काजोल भुजेल तेस्रो भएका छन् । प्रविणता प्रमाणपत्र तह नर्सिङ तहमा अध्ययनरत पहिलो हुने पौडेलले ९४ अंक, दोस्रो हुने बीएस्सी नर्सिङकी धरेलले ९४ र तेस्रो हुने छात्राद्वय खनाल र भुजेलले समान ९१ अंक प्राप्त गरेका थिए ।
सहयक प्राध्यापकहरु ज्योति पोखरेल, कला पुडासैनी र विजयलक्ष्मी गिरीले संयोजन गरेको कार्यक्रममा विभिन्न तहका १३ जना विद्यार्थीको सहभागिता रहेको थियो । कलेजकी प्रिन्सिपल शोभना नेपालको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा वीरेन्द्र बहुमुखी क्याम्पसका नेपाली विषयका सहप्राध्यापक पूर्णप्रसाद अधिकारी, बालकुमारी कलेजका अंग्रेजी विषयका सहायक प्राध्यापक सुशिल घिमिरे र सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका सहायक प्राध्यापक मधुसूदन दवाडी रहेका थिए ।

























