नवलपरासी

नवलपरासीको इन्दिरा चिनी मिलले किसानलाई पाँच करोड भुक्तानी गर्ने

Banner

विकास अधिकारी 

नवलपरासी, पुस १२-

पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा सुगर एण्ड एग्रो ईन्ड्रस्टिज प्रालि र उखु किसानबीचको विवाद तत्कालका लागि समाधान भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको अध्यक्षतामा भएको छलफलमा मिलले एक महिना भित्र किसानको उखु खरिद बापतको पाँच करोड बक्यौता रकम भुक्तान गर्ने सहमति गरेको हो ।

यससँगै किसानले मिल मुलगेटमा लगाएको ताला पनि खोल्ने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी मरासिनी र उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले टेलिफोनमा चिनी मिलका सञ्चालक राकेस अग्रवालसँग कुराकानी गरेपछि यस्तो सहमति भएको हो ।
टेलिफोनमा अग्रवालले एक महिना भित्र किसानको पाँच करोड रुपैयाँ भुक्तान गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसका लागि किसानहरुले मिल गेटमा लगाएको ताला खोल्ने र उद्योगमा बाँकी रहेको चिनीलगायतका समग्री निर्वाधरुपमा बिक्री गर्न दिने सहमति भएको छ ।यसअघि किसानले लगाएको ताला प्रशासनले खोलेपछि संघर्ष समितिले मुल गेटमा खाल्डो खनेर धर्ना सुरु गरेको थियो । उद्योगका जीएम सुरेन्द्र शुक्लाले उद्योगमा हाल झन्डै ६ करोड बराबरको बिक्री योग्य समग्री रहेकाले त्यही बेचेर भुक्तानी प्रक्रियालाई तीव्र बनाउने बताएका छन् ।

मिलले किसानको ११ करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । विगत तीन दिनदेखि उद्योगले दैनिक झन्डै १० लाखका दरले किसानको बक्यौता रकम भुक्तानी गर्दै आए पनि किसानले ब्रोकरहरुलाई मात्र पैसा बाडिएको तर वास्तविक किसानले पैसा नपाएको भन्दै विरोध जनाउँदै आएका थिए । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा शुक्रबार भएको छलफलमा पनि सर्वसाधारण किसानलाई भुक्तानीमा प्राथमिकता दिने र त्यसको सार्वजनिक गर्ने लिखित सहमति भएको छ ।

किसानहरुले उखु खरिद बापतको बक्यौता रकम भुक्तानीको माग गर्दे गत पुस १ गते उद्योगको मुल गेट र प्रशासन फाँटमा तालाबन्दी गरेका थिए । तर, प्रशासन फाँटको ताला खोले पनि मुलगेटको ताला भने खोलिएको थिएन । यस्तै उखु क्रसिङको सिजन भइसकेकाले यही पुस २५ गते सम्ममा उखु क्रसिङ सुरु गर्न पनि उद्योग सहमत भएको छ । जसमा लागि सबै पक्षले सहयोग गर्ने र मिलमा कसैले तालाबन्दी गरे कानुन बमोजिम कारबाही गर्ने निर्णय पनि गरिएको छ । छलफलमा संविधानसभा सदस्य देवकरण कलवार सन्तु, उखु कृषकहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योगी व्यवसायी पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

उखु क्रसिङको मुख्य समयमा जिल्लामा चिनी उद्योग अझै पनि सञ्चालनमा आउन नसक्दा उद्योगी र किसान दुवै मारमा छन् । जिल्लामा रहेका तीन ठूला चिनी उद्योग मध्ये उखु क्रसिङको सिजन सुरु भइसक्दा एउटा चिनी मिल मात्रै सञ्चालनमा आएको छ । सुस्तामा रहेको वाग्मती खाडसारी चिनी मिलले मात्रै क्रसिङ सुरु गरेको छ भने सुनवलमा रहेको लुम्बिनी चिनी उद्योग यस वर्ष सञ्चालनमा नआउने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>