गण्डकी

औधोगिक हब बन्दै गैँडाकोट, तीन ठूला उद्योगमा २०० बढीलाई रोजगारी

Banner

मधुसूदन दवाडी

चितवन, पुस १०

देशमा राजनीतिक स्थिरता भएसँगै नवलपुरको गैँडाकोटमा लगानीकर्ताहरुको आकर्षण बढेको छ ।

कुनै बेला भृकुटी कागज कारखानाको नामबाट चिनिएको गैँडाकोटमा हरेक वर्ष एकपछि अर्काे उद्योग थपिएपछि औधोगिक हब बन्दै गएको हो । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर वार्षिकरुपमा सयौं साना उद्योगहरु गैँडाकोटमा दर्ता भइरहे पनि १० करोडमाथिका तीन ठूला उद्योगले गत आर्थिक वर्षमा सञ्चालनको लागि उद्योग विभागमा दर्ता भएर पूर्वधार निर्माणको चरणमा रहेका छन् । जसमा आइएमई हर्बल एण्ड फुड्स प्रोडक्ट प्रालिले २४ करोड, कालिका रिफाइनरीले ५६ करोड र एनसी एग्रोभेट प्रालिले १५ करोड बढी लगानी गैँडाकोटमा गर्दै छन् । यसअघि पनि विभिन्न बियर तथा औषधि कम्पनीहरु स्थापना भएर त्यस क्षेत्रका सयौं नागरिकलाई रोजगारी दिइरहेका छन् । स्थानीय तहदेखि केन्द्रसम्मले आर्थिक लगानीलाई प्राथमिकता दिएकोले पनि लगानीकर्ताहरुको आकर्षण बढेको सरोकारवालाहरु बताउँछन् ।

गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरपालिकालाई उद्योग र लगानीमैत्री बनाउन नगरपालिका लागिरहेको बताए । उनले भने, ‘ हामी लगानीकर्ताहरुलाई आवश्यक पर्ने जस्तो पनि सहयोग गर्न तयार छौं ।’ त्यसैगरी गैँडाकोटका स्थानीय व्यवसायीहरु पनि लगानीकर्ताहरुको प्रवेश भएकोमा खुसी छन् । उद्योग वाणिज्य संघ नवलपुर (सुस्ता पूर्व) का अध्यक्ष अमृत भट्टचनले गैँडाकोटमा व्यवसायिक वातावरण भएकोले पनि लगानीकर्ताहरुको आकर्षण बढिरहेको बताए । उनले भने, ‘गैँडाकोट देशकै केन्द्र भागमा रहेको शान्त ठाउँ भएकोले पनि उद्योगी व्यवसायीको आकर्षण बढ्दो छ ।’ चितवनसँग नजिक भएको क्षेत्र भएकोले पनि बजार क्षेत्र ठूलो छ जुन लगानीकर्ताहरुले हेर्ने उनले विचार राखे । ठूला उद्योगको स्थापनाले रोजगारी सिर्जना भइ आर्थिक गतिविधि बढ्ने भएकोले पनि उद्योग वाणिज्य संघ र गैँडाकोट नगरपालिका लगानीकर्ताहरुलाई सहयोग गर्न तत्पर रहेको बताए । स्थिर सरकार बनेपछि देशको मुल मुद्दानै आर्थिक समृद्धि भएकोले पनि लगानीको वातारण बन्दै गएको उनले बताए ।

 

कुन कुन ठूला उद्योग कहाँ खुल्दै छन् ?

गैँडाकोट नगरपालिका–६ मा आईएमई हर्बल एण्ड फुड्स नामको हर्बल उद्योग खुल्दै छ । जसको मुख्य लगानी २४ करोड १४ लाख ५२ हजार रहेको छ । जसको पूर्णरुपमा सञ्चालनमा आएपछि ७३ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । यसलाई आवश्यक कच्चा पदार्थहरुको उत्पादन र बिक्री वितरणमा अन्य सयौं नागरिकलाई अप्रत्यक्षरुपमा रोजगारी दिने उद्योगको योजना छ ।

त्यस्तै गैँडाकोट नगरपालिकाकै वडा नम्बर ७ मा ५६ करोड ४० लाख लगानीमा सोयाबिन तेल उद्योग खुल्दै छ । यस उद्योग पूर्णरुपमा सञ्चालनमा आएपछि ११० जनाले प्रत्यक्ष रोजगारी पाउने उद्योगले जनाएको छ । त्यसैगरी गैँडाकोटकै वडा नम्बर १ मा एनसी एग्रोभेट प्रालि नामको च्याउ र तरकारी उत्पादन उद्योग खुल्दै छ । जसमा जम्मा लगानी १५ करोड रुपैयाँ रहेको छ भने उद्योगले ३६ जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखेको छ । गण्डकी प्रदेशमा गत आर्थिक वर्षमा ५५ वटा ठूला लगानीका उद्योग दर्ता भएका थिए जसमा धेरैजसो उद्योगले गैँडाकोट र नवलपुर क्षेत्रलाई नै आफ्नो मुख्य केन्द्रबिन्दु बनाएका छन् ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>