देश/प्रदेश
अब सडकमा जान्छौंः डा भट्टराई

काठमाडौं, पुस ९–
समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै अब पार्टीलाई सदन र सडकमा जाने बाटो खुला भएको बताएका छन् । सरकारबाट मुद्दा स्थापित गर्ने प्रयास असफल भएकाले सशक्त प्रतिपक्षको रुपमा उभिएर अब सडक र सदनबाट जनताको अधिकार स्थापित गराउन सक्रिय हुने बताए ।
अहिलेको सरकारले समाजवादी पार्टीलाई सडकमा जान बाध्य पारेको दाबी गर्दै उहाँले पार्टीले सकारात्मक र सक्रिय प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले संविधान संशोधनको विकल्प नरहेको समेत उल्लेख गर्नुभयो ।
सरकारलाई समर्थन फिर्ता गरेपछि आज सिंहदरबारमा पार्टीको आगामी योजनाबारे पत्रकारलाई जानकारी गराउँदै अध्यक्ष डा भट्टराईले माओवादी पार्टीमा रहँदादेखि नै अपूर्ण संविधानलाई पूर्णता दिनुपर्छ भनेर आफूले बोलेको स्मरण गर्दै पहिचानमा आधारित सङ्घीयता आवश्यक हुनेमा जोड दिए । डा भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रणाली आजको आवश्यकता भएको बताए । पत्रकारले सोधेको एक जिज्ञासामा उनले राजनीतिक अस्थिरताको अगुवाइ गर्ने डा बाबुराम भट्टराई हो भनेर कसैले भन्यो भने त्यसमा आफूलाई गर्व लाग्ने बताए । “क्रान्ति भनेको अस्थिर ढङ्गले नै हुने हो, क्रान्तिपछि बल्ल स्थिरता आउँछ”, उनले थपे ।
सभामुखको विषयमा सोधिएको एक प्रश्नमा डा भट्टराईले प्रतिपक्ष भएपछि विचार मिल्ने र मुद्दा मिल्ने शक्तिसँग मुद्दाको आधारमा सहकार्य गर्नु स्वभाविक भएको तर सभामुखमा पार्टीको तर्फबाट कुनैपनि आकाङ्क्षा नरहेको बताए ।
























