समाज
देशलाई लोडसेडिङमुक्त बनाएको भन्दै कुलमानलाई नाष्ट प्रविधि पुरस्कार प्रदान

काठमाडौं,मंसिर २०-
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले यो वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ।
विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्यातएवापत उनलाई ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो। एक लाख नगद राशि र सम्मानपत्र रहेको उक्त पुरस्कार नाष्टको ३७ औं वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले घिसिङलाई हस्तान्तरण गरे।
नाष्टका प्राज्ञ प्राडा जनार्दन लामिछानेको पुरस्कार मूल्यांकन एवं छनोट समितिले कार्यकारी निर्देशक घिसिङलाई ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गर्न सिफारिस गरेको हो। नाष्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्यासएका वैज्ञानिक प्राविधिकहरुको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ। नाष्टले आफ्नो वार्षिकोत्सवका अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको छ।
कार्यक्रममा मन्त्री पोखरेलले पुरस्कृत व्यक्तित्वहरूको जिम्मेवारी थपिएको उल्लेख गर्दै जनताको अपेक्षालाई पुरा गर्ने गरी क्रियाशील रहन आग्रह गरे।


























