चितवन विशेष
‘प्रदेश सरकार शैक्षिक गुणस्तर वृद्धिमा केन्द्रित’:मन्त्री दुलाल

चितवन, मंसिर १८–
प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकार शैक्षिक गुणस्तर वृद्धिमा केन्द्रित भएको बताएका छन् । भरतपुर महानगरले आज (बुधबार) भरतपुरमा आयोजना गरेको स्थानीय पाठ्यक्रम लोकार्पण कार्यक्रममा मन्त्री दुलालले शिक्षाको गुणस्तर वृद्धिमा प्रदेश सरकारले चरणबद्ध लगानी गरिरहेको बताए ।
मन्त्री दुलालले प्रदेश सरकारको कूल बजेटको १४ प्रतिशत बजेट शिक्षामा छुट्याएको भन्दै गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारले लगानी बढाइरहेको बताए । मन्त्री दुलालले भने, “लगानीले मात्रै गुणस्तर वृद्धि नहुने भएकाले गुणस्तर वृद्धिका लागि बालबालिकाको पोषण, विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक सामग्रीमा ध्यान दिइरहेका छौँ ।”
प्रदेशका विभिन्न १० सामुदायिक विद्यालयमा स्कूल बस दिने तयारी भइरहेको पनि उनले जानकारी दिए । प्रदेशमा भएका एक हजार ३५० सामुदायिक विद्यालयमध्ये १० लाई परीक्षणका रूपमा बस दिने तयारी भइरहेको बताउँदै उहाँले यसको प्रभावकारिताका आधारमा अन्य स्कूलमा पनि थप्दै जाने बताए ।
























