चितवन विशेष
चितवनमा दश महिनामा ८० जनामा देखियो एचआइभी, नौ जनाको मृत्यु

चितवन, मंसिर १३–
चितवनमा पछिल्लो दश महिनामा ८० जना एचआईभी÷एड्स संक्रमित फेला परेका छन् ।
भरतपुर अस्पताल र विभिन्न समुदायमा गरिएको एचआइभी परीक्षणको क्रममा ८० जनामा एचआईभी संक्रमण भेटिएको एआरटी सेन्टर भरतपुरका कृष्णहरि सापकोटाले जानकारी दिए । एचआईभी संक्रमण भएका मध्ये ४३ जना पुरुष, ३५ जना महिला र २ जना बच्चा रहेका छन् ।
दश महिना अवधिमा १३ हजार ६२५ जनामा एचआइभी परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित फेला परेको सापकोटाले बताए । यो संख्यामा भरतपुर अस्पतालमा गर्भवती महिलामा गरिएको परीक्षण समेत जोडिन्छ ।
सापकोटाले चितवनमा विस्तारै एचआइभी संक्रमितको संख्या घट्दै गएको समेत बताए । सापकोटाले भने–‘तुलनात्मक रुपमा संख्या घट्दो छ, तर अझै कतिपयले एचआइभी परीक्षण गर्नै मान्दैनन् ।’
एचआइभी संक्रमितहरु मध्ये चालु वर्ष सन् २०१९ मा ११६ जनाले एआरभी औषधि सेवन गरिरहेका छन् । यस्तै पछिल्लो दश महिनामा एचआइभी संक्रमितहरु मध्ये ९ जनाको मृत्यु भएको छ । भरतपुर अस्पताल एआरटी सेन्टरको तथ्यांक अनुसार मृत्यु हुनेमा ८ जना पुरुष र एक जना महिला रहेका छन् । मृत्यु हुनेहरुमा एचआइभी मात्र नभइ अत्याधिक मादक पदार्थ सेवन, मुटु रोग, टिबीलगायतका रोग समेत रहेको सापकोटाले बताए ।
यसैबीच ३२ औं विश्व एड्स दिवस चितवनमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । भरतपुर अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय, एएचएफले संयुक्त रुपमा विश्व एड्स दिवस मनाउन लागेको हो ।
आज जिल्ला स्वास्थ्यको कार्यालयमा आयोजित ‘एचआइभी नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ विषयक पत्रकार र सरोकारवाला निकायकोबीचको अन्तरक्रिया कार्यक्रममा एड्स दिवस बारे जानकारी दिइएको हो ।
दिवस अन्तरगत भोलि (शनिबार) भरतपुर कारागारमा रहेका बन्दीहरुको एचआइभी परीक्षण गरिने एआरटी सेन्टर भरतपुरका कृष्णहरि सापकोटाले जानकारी दिए ।
यस्तै एड्स दिवसका दिन आइतबार विहान समुद्घाटन समारोह, जनचेतनामुलक भरतपुरमा अटो ¥याली र सोही दिन दिउँसो भरतपुर महानगरपालिका–७ वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सडक खण्डमा एचआइभी परीक्षण गर्ने कार्यक्रम रहेको सापकोटाले बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जन र भरतपुर अस्पतालका चिकित्सक कल्याणले एआइभी संक्रमितको वर्तमान अवस्था र रोकथामका लागि भइरहेका कार्यहरुको बारेमा जानकारी दिएका थिए ।
























