चितवन विशेष
भरतपुरको वीरेन्द्र क्याम्पसमा विद्यार्थीको तालाबन्दी

चितवन, मंसिर १०-
नियमित पठनपाठनको माग गर्दै विद्यार्थीहरुले भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् ।
कक्षाहरु नियमित रुपमा सञ्चालन नभएपछि स्नातक तहमा अध्ययनरत विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका हुन् । जसले गर्दा क्याम्पसमा सबै संकायका पठनपाठन ठप्प भएको क्याम्पसले जनाएको छ ।
यसअघि पटकपटक कलेज प्रशासनसँग प्राध्यापकहरु नियुक्त गर्न माग राखे पनि कुनै सुनुवाइ नभएपछि अनिश्चितकालिन तालाबन्दी गर्न बाध्य हुनुपरेको विद्यार्थीले बताए । एक साताअघि विद्यार्थीले कक्षा नियमित सञ्चालन हुनुपर्ने माग राख्दै क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई कार्यालयमै थुनेका थिए । त्यसपछि कलेज प्रशासन र विद्यार्थीहरुबीच सहमति भएको थियो । सहमतिअनुसार कलेज प्रशासन अघि नबढेपछि विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
क्याम्पस प्रमुख गोविन्द सापकोटाले विद्यार्थीले पढाइ नियमित नभएको भनेर माग राख्नु जायज भएको बताए । उनले त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत लिएर शिक्षकका लागि विज्ञापन गर्ने तयारी गरिएको जानकारी दिए ।
























