चितवन विशेष

माडीमा हात्तीको आक्रमण: तील लिन ठोरी हिडेका बाबुछोरा फर्किएनन्

Banner

प्रिती पोखरेल

चितवन, कात्तिक ३०-

पृथ्वी  हरेक प्राणीको सुरक्षित आश्रय स्थल हो, यो कुरामा दुई मत छैन तर यो कथन सबैको जीवनमा भने लागू हुँदैन । जसको उदाहरण हो, चितवन राष्ट्रिय निकुञ्ज नजिकैको सानो उपत्यका माडीका स्थानीयको जीवन । चौतर्फी निकुञ्ज र वनले घेरिएको माडीका कयौँ स्थानीयको जीवन राति निदाउँदा देखेका सपनीबाट बिउँझिन नपाउँदैमा अन्त्य भएको छ । कारण निकुञ्जबाट जनावर मानवबस्ती प्रवेश गरी आक्रमण गर्नु । वर्षभरी खानको लागि लगाइएका खेती नथन्काइन्जेल खेतमै कुर्नुपर्ने बाध्यता अनि त्यही खेती कुर्दा जनावरको आक्रमणबाट ज्यान गुमाउँछन् नाबालकदेखि वृद्धासम्म । यता, काम विशेषले सबेरै घरबाट हिडेका आफन्त सकुसल घर फर्कने हुनकी होइनन् कुनै टुङ्गो छैन ।

आज मात्र बिहान सबेरै तील किन्न माडीबाट ठोरी हिडेका दुई बाबुछोराको पार्थिव शरीर घर फर्की आयो । माडी नगरपालिका– १ बरुवाका ६० वर्षीय बाबुराम पौडेल व्यवसायिक योजनाका लागि थुप्रै बोराहरु लिएर ३५ वर्षीय छोरा राजुसँग निकुञ्जको बाटो हुँदै ठोरीका लागि जादैँ थिए । कसैले सोचेका थिएनन् तिनै तील लिन लगिएका बोरामा क्षतबिक्षत् पार्थिव शरीर केही क्षणमै फिर्किएला । स्वर्गीय पौडेलका तीन छोरा थिए । कान्छो छोरा उनले केही वर्षअघि सडक दुर्घटनामा गुमाएका थिए । हात्तीको आक्रमणले उनले आज माइला छोरा राजु र आफूलाई नै गुमाए । मृतक राजुको दुई महिनाको एक सन्तान छन् । घरबारी र यात्रामै परिवारका सदस्य गुमाउनुपर्ने अवस्था रहे पछि स्थानीय त्रसित र आक्रोशित देखिन्छन् ।

नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज जसले विश्वसामु नेपालको पहिचान दिएको छ । विश्व सामु प्रकृतिको वरदान साबित चितवन राष्ट्रिय निकुञ्ज माडीबासीका लागि भने अभिषाप जस्तै बनेको छ । यस वर्ष हात्तीको आक्रमणबाट माडीमा तीन जनाको मृत्यु भएको छ भने एक जनाको बाघको आक्रमणबाट ज्यान गएको छ । गत वर्ष हात्तीेले तीन जनाको ज्यान लियोे । गत वर्षमा ध्रुवे हात्तीले माडीमा जनधनको ठूलो क्षति भयो ।

कानुनअन्र्तगत निकुञ्जभित्र वन्यजन्तुको आक्रमणबाट मृत्यु भए निकुञ्ज पक्षबाट राहत र क्षतिपूर्ति पाउने व्यवस्था छैन । तर, यात्राको क्रममा सुविधा प्राप्त बाटोमै हुने घटनालाई फरक रुपमा हेर्नुपर्ने सरोकारवालाले नै बताउँदै आएका छन् । निकुञ्जको मुख्य सडकमै माननीय क्षति हँुदा क्षतिपूर्ति के हुन्छ भन्ने बहस सुरु भएको छ ।

सुविधा प्राप्त बाटोमा निकुञ्ज प्रशासनबाट अनुमति लिई यात्रा गरिने भएकाले क्षतिपूर्ति दिइनुपर्ने चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत बघौडा मध्यवर्ती उपभोक्त समितिका अध्यक्ष प्रभुप्रसाद महतोले बताए । हाल निकुञ्ज बाहिर जंगली जनावर आक्रमणबाट मानिसको मृत्यु भए निकुञ्जले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था छ भने माडी नगरपालिकाले सोही रकम बराबरको क्षतिपूर्ति थप गरेर पीडितलाई दिने सहमतिसमेत भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>