मकवानपुर

ठेकेदारको लापरवाहीः काठमाडौँ–कुलेखानी सडक अलपत्र

Banner

हेटौंडा, कार्तिक २४–

प्रदेश राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने चोभार–दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडक निर्माण शुरु भएको चार वर्षसम्म पनि पूरा हुन सकेको छैन ।

तीन खण्डमा काम भइरहेको यो सडक तीनवटा निकायले हेर्छन् । काठमाडौँतिरको भाग सडक सुधार आयोजनाअन्तर्गतको भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाले हेर्छ । मकवानपुरतर्फको आयोजना भने सडक डिभिजन हेटौँडाले ठेक्का गरी हाल पूर्वाधार विकास कार्यालय चितवनलाई हस्तान्तरण गरिएको छ ।

मकवानपुरतर्फ इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा भइरहेको सडक स्तरोन्नतिको काम अलपत्र रहेकामा स्थानीय सरकारका तर्फबाट पटकपटक छिटो काम सम्पन्न गराउने पहल गर्दा पनि निर्माण व्यवसायीले अटेर गरेको अध्यक्ष जीवन लामाले जानकारी दिए ।

“हामी निर्वाचित भएर आउनुअघि नै शुरु भएको योजना अहिलेसम्म सम्पन्न हुन सकेन, तीन भागमा ठेक्का भएर काम भइरहेको आयोजनाको मकवानपुरतर्फको एउटा ठेक्काको काम तोडिएको छ, प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा सडकको सरोकार भएका निकायबीच अन्तिम कुराकानीपछि आजै आगामी जेठ मसान्तमा काम सक्ने सहमति भएको छ”, उनले भने।

सिस्नेरी–कुलेखानी खण्डको निर्माण व्यवसायीले पनि काम नगरेकाले ठेक्का तोड्न गाउँपालिकाले अनुरोध गर्दै आएको छ । सडकको काम समयमा नसकिँदा बर्सातमा हिलो र हिउँदमा धुलोले सवारी चलाउन समस्या हुने गरेको चालकहरुको गुनासो छ ।

विगत पाँच वर्षदेखि यो मार्गमा टाटा सुमो चलाउँदै आएका चालक गोपालबहादुर लामा सिस्नेरीतिरको काम अलपत्र हुँदा टुल्कु डुँडेचौरबाट हुमाने डाँडा हुँदै कुलेखानीमा निस्कने गरेको बताउँछनन् । फर्पिङबाट टुल्कु, फाखेल हुँदै हुमानेबाट कुलेखानी निस्कन सोझो बाटो भए पनि यसको स्तरोन्नति गर्नेतर्फ भने सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

सडक हेर्ने निकायको ध्यान जान नसकेपछि गाउँपालिकाले हुमानेबाट कुलेखानी निस्कने सडक स्तरोन्नति एवं पहिरो पन्छाउन शुरु गरेको वडा नं ४ का सदस्य वैकुण्ठ थापामगरले जानकारी दिए। यो सडकको समेत स्तरोन्नति गरे प्रदेश राजधानी र केन्द्रीय राजधानीबीतच आवतजावत गर्न सहज हुने उनले बताए ।

सडकको कुलेखानीभन्दा तलतिरको भागमा काम नै शुरु हुन सकेको छैन । यो खण्ड दुई लेनमा स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा प्रदेश नं. ३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का गरेको छ । रु ४८ करोड लागतमा हेटौँडासम्मको सडक स्तरोन्नति हुने मन्त्रालयले जनाएको छ ।

प्रदेश ३ सरकारअन्तर्गतका मन्त्रालय एवं कार्यालयमा कार्यरत कर्मचारीको शुक्रबार बेलुकी काठमाडौँ आउन र आइतबार बिहान हेटौँडा जान भीड लाग्छ । तर सडक स्तरोन्नतिमा कसैको ध्यान नगएर गाउँपालिकाको निरन्तर आग्रहपछि आज प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सरोकार भएका निकायको बैठक बसेको पूर्वाधार विकास कार्यालय चितवनका कार्यालय प्रमुख पुष्कर पोखरेलले बताए ।

बैठकमा मकवानपुरतर्फका दुई आयोजना जेठ मसान्तसम्म सक्ने सहमति जुटेको छ । सिस्नेरी–कुलेखानी ५.८ किमी सडक दुई लेनमा स्तरोन्नतिका लागि २०७४ असार ३० गते सम्झौता भएको थियो । हालसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक डिभिजन हेटौँडाले २०७५ पुस २७ गते कार्यालयलाई यो योजना हस्तान्तरण गरेको थियो ।

गजुरमुखी÷मोतीदान जेभीले निर्माण जिम्मेवारी पाएको यो सडक जेठ मसान्तमै सक्ने प्रतिबद्धता आजको प्रदेश मन्त्रालयको बैठकमा गरेको उनले सुनाए । रु १५ करोड लागतमा यो सडक स्तरोन्नति भइरहेको छ ।

यसैगरी ज्यामिरेबाट काठमाडौँतिरको ६ किमी काम ६० प्रतिशत सकेर आशीष ब्रदर्स नामको निर्माण व्यवसायीले ठेक्का छोडेको छ । सडक विभागबाट मौखिक आदेशमा काम गरे पनि लिखित ल्याउन नसकेपछि रु ८० लाखको ‘भेरिएसन’ दिन नसकेको पूर्वाधार कार्यालय चितवनका प्रमुख पोखरेलले सुनाए । यसपछि यो खण्डको ठेक्का तोडिएको हो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>