चितवन विशेष

माडीको सोमेश्वरगढी चितवनको गहना बन्छ : नगर प्रमुख ढकाल

Banner

चितवन, कात्तिक २३-

माडीको सोमेश्वरगढी चितवनकै गहनाको रुपमा स्थापित हुने माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले दाबी गरेका छन् ।

नगरप्रमुख ढकालले सोमेश्वर क्षेत्रमा प्रशस्त प्राकृतिक प्रस्तर रहेको र त्यही प्रस्तरमा मूर्ती निर्माण गर्दा प्राकृतिकताको प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । ढकालले माडीप्रति कलाकारले देखाएको सहानुभूति प्रति कृतज्ञता ज्ञापन गरे । चुरे पहाडको सबैभन्दा अग्लो सोमेश्वरगढी क्षेत्रको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व रहेको र यसको समग्र विकासका लागि ९० करोड रुपैयाँ भन्दा बढीको गुरुयोजना तयार भइसकेको माडी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए ।

मूर्तिकलाको माध्यमबाट नेपाली कलालाई अगाडि बढाउने अभियानमा आफूहरु लागिपरेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले बताए । सोमेश्वर गढीको पर्यटन विकासले सीमा सुरक्षामा टेवा पुग्ने र कार्यशालाबाट सोमेश्वर गढीको पर्यटन विकासमा ठूलो बल पुग्ने माडी पर्यटन समितिका अध्यक्ष पुरन महतोले विश्वास व्यक्त गरे ।

सुन्दर कलाको ऐतिहासिक सोमेश्वर गढी, इको, कृषि र पर्यटनको गन्तव्य नगरी भन्ने नाराका साथ आजदेखि माडीको सोमेश्वर गढीमा माडी राष्ट्रिय प्रस्तर मूर्ती कार्यशाला सुरु भएको छ । माडी नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्याशालाको उद्घाटन आयोजक माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले गरेका हुन् । आजदेखि लगातार १८ दिनसम्म कलाकारहरु आवासीयरुपमा सोमेश्वर क्षेत्रमा बसी मूर्ति तयार गर्नेछन् ।

कार्यशालामा नेपालका ख्यातिप्राप्त कलाकारहरु लक्ष्मण भुजेल, राजु पिठाकोटे, गंगाधर सारु, राजन काफ्ले, उत्तम डंगोल, हरिराम अधिकारी, हिम्मत नेम्वाङ, रामचन्द्र पण्डित, देवेन्द्र पाण्डे, इन्दिरा श्रेष्ठ, सुनिता राणा, दिनेश्वर महतो, सुमन राई, भीम श्रेष्ठलगायत नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा आवद्ध ३० जना मूर्तिकारहरुको सहभागिता रहेको छ ।  कार्यशालाको उद्घाटनमा माडी नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु,स्थानीय समाजसेवीलगायतको उपस्थिति रहेको थियो । माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रम नगरपालिका सूचना प्रविधि अधिकृत प्रवीण भण्डारीले सञ्चालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>