क्रिकेट
पहिलो सँस्करणको वुमन्स च्याम्पिन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजलाई

चितवन, कार्तिक ७–
पहिलो सँस्करणको वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली क्याटक्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवनले उपाधि उचालेको हो । चितवनले दिएको ११३ रनको लक्ष्य पछ्याए काठमाडौं निर्धारित ओभरमा ६७ रनमै अलआउट भयो । काठमाडौंका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन बनाइन् । ममता थापा र ईश्वरी विष्टले समान १३ रन बनाइन् ।
अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न चितवनकी रितु कनौजिया र सुमन खतिवडाले तीन/तीन विकेट लिइन् । रितुले ४ ओभरमा एक मेडनसहित ७ रन मात्र दिएर महत्वपूर्ण तीन विकेट लिइन् । यस्तै समुनले ११ रन मात्रै दिएर तीन विकेट हात पारिन् । यस्तै रेखा रावलले दुई विकेट लिइन् ।
यसअघि पहिले व्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै ११२ रन जोडेको थियो । चितवनका लागि समुन खतिवडाले २९, कप्तान इन्दु बर्माले अविजित २२, काजल श्रेष्ठले २१, कञ्चन श्रेष्ठले १९ रनको योगदान दिइन् ।