माडी

माडीमा बाख्रा पाल्ने किसानलाई प्रतिकिलो २५ रुपैयाँ अनुदान

Banner

कृष्ण आचार्य,

चितवन, असोज २८-

चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा प्रतिकिलो २५ रुपैयाँ अनुदान दिने भएको छ । पछिल्लो समय फष्टाउँदै गएको बाख्रापालन व्यवसायमा किसानलाई थप आकर्षित गर्न नगरपालिकाले अनुदान दिन लागेको हो ।

अनुदान दिनका लागि नगरपालिकाले कार्यविधि निर्माण गरिरहेको छ । ‘किसानलाई कुन विधिबाट अनुदान दिने भन्नेबारे कार्यविधि निर्माणको चरणमा छौं’ नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले भने ‘किसानलाई सहजरुपले अनुदान दिने विधि बनाउँदैछौं ।’ उनले तिहार अगाडि नै कार्यविधि निर्माण गरेर किसानलाई अनुदान दिइने बताए ।

नगर प्रमुख ढकालले बाख्रापालन गर्ने किसानको समूहलाई १० लाख रुपैयाँ बिउ पूँजी समेत प्रदान गर्ने जानकारी दिए । नगरपालिकाले दिने अनुदानबाट किसानले बाख्रा खरिद गरेर व्यवसायीक बन्न मद्धत पुग्ने उनको विश्वास छ । यसले नगरभित्रका निम्न आय भएका नागरिकको आयस्तर उकास्न सहयोग पुग्ने उनले बताए ।

‘बाख्रापालन व्यवसाय माडीमा फष्टाउँदो व्यवसाय हो’ उनले भने ‘विगतमा आफैलाई बाख्राको मासु पु¥याउन धौधौं हुने माडीबाट अहिले बाहिर निर्यात हुन्छ ।’ उनले यस वर्षको दसैंमा पनि माडीबाट लाखौंको बाख्रा निर्यात भएको बताए । उनले बाख्रापालन व्यवसायमा किसानको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बताए । परम्परागत रुपमा बाख्रापालन गर्दै आएका माडीका किसानहरु पछिल्लो समय व्यवसायीक बाख्रापालनमा आकर्षित भएका छन् । माडी नगरपालिकाको दक्षिणी क्षेत्र बाख्रापालनका लागि उपयुक्त मानिन्छ ।

माडी नगरपालिका–७ देवेन्द्रपुरमा माडी एग्रो फर्म संचालन गरेका निलकण्ठ काफ्लेले माडीमा बाख्रापालनको सम्भावना निकै राम्रो रहेको बताए । उनले विगत छ वर्षदेखि बोयर जातका बाख्रापालन गर्दै आएको जानकारी दिए । ‘बाख्राको बजारको समस्या नै छैन्’ उनले भने ‘अझ नगरपालिकाले प्रतिकिलो २५ रुपैंया अनुदानको व्यवस्था गरेपछि थप राहात भएको छ ।’ उनले माडी नगरपालिकाले किसानका लागि अनुदानका कार्यक्रम ल्याएर स्थापित हुन मद्धत गरेको बताए ।

माडीमा करिब तीन सय व्यवसायीक बाख्रा फर्म छन् । माडीमा उत्पादन भएका बाख्रा देशका विभिन्न शहरमा बिक्री हुने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>