अर्थ
चितवनमा गण्डकी विकास बैंकले बिहीबार र शुक्रबार नयाँ नोट साट्ने

चितवन, असोज १४–
चितवनमा आज (मंगलबार)बाट दशैँका लागि नयाँ नोट साट्न सुरु भएको छ ।
गत वर्ष सरकारी बैँकहरुले मात्र बाँड्ने गरेको नयाँ नोट यसवर्ष सरकारीका साथै निजी बैँकहरुले पनि साट्ने तयारी गरेका छन् । गण्डकी विकास बैंकले यही असोज १६ र १७ गते दुई दिन नयाँ नोट साट्ने जनाएको छ ।
गण्डकी विकास बैँकका क्षेत्रीय प्रबन्धक सुरज शर्माले चितवनमा रहेका ७ वटा शाखाबाट प्रति ग्राहक पाँच हजारको दरले नयाँ नोट साट्ने तयारी गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘पैसा आइनसकेकाले आजदेखी बाड्न सकेनौं, बिहीबार र शुक्रबार नयाँ नोट साट्छौं ।’
उनका अनुसार गण्डकी विकास बैंकले चितवनका सबै शाखाबाट ५० लाख रुपैयाँको नयाँ नोट साट्ने छ । सबै प्रकारका नोट गरी एक व्यक्तिले पाँच हजार रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ ।
यता राष्ट्रिय वाणिज्य बैँक भरतपुरले आज (मंगलबार) विहान १० बजेबाट दिउँसो दुई बजेसम्म नोट बाड्न सुरु गरेको छ । चितवनमा ४ दिनपछि आजबाट नयाँ नोट बाड्न लागेको हो बैकका प्रबन्धक ईन्द्रविलास न्यौपानेले मंगलबारदेखि तीनदिनसम्म नयाँ नोट बाड्ने जानकारी दिए ।
























