चितवन विशेष

कुखुरापालक किसान भन्छन्ः पलायन हुने अवस्थामा पुग्यौं

Banner

चितवन, असोज १–

नेपाल आत्मनिर्भर भएको एउटा क्षेत्र हो पोल्ट्री व्यवसाय । तर पछिल्लो समय यही क्षेत्रका व्यवसायीहरु व्यवसाय डुब्नेमा चिन्तित छन् ।
कुखुरा पालक किसानहरु लागत भन्दा कम मूल्यमा विक्री गर्नु परेपछि आफूहरुको व्यवसाय नै डुब्ने चिन्ता रहेको उनीहरुको भनाई छ । कुखुरा पालक किसान प्रदीप लामिछानेले भने–‘बजारमा कस्ता कस्ता अण्डा विक्री भइरहेका छन् हामी कसैलाई थाहा छैन, हिजोका पुराना किसान पलायन हुने अवस्थामा पुगेका छन् ।’
लामिछानेले ह्याचरीका अण्डा समेत बजारमा विक्री हुन थालेको भन्दै यसतर्फ सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताए । उनले भने–‘बजारमा अनुगमन गनुपर्ने अवस्था आएको छ, यसले सच्चा किसान मर्कामा परेका छन् ।’
नेपाल दाना, अण्डा, कुखुरा वितरण संघले मंगलबार भरतपुरमा आयोजना गरेको ‘अण्डाको बजार अवस्था बारे उत्पादक र विक्रेताबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै किसानहरुले आफ्नो समस्या सुनाएका थिए । उनीहरुले अण्डाको मूल्यलाई कार्यान्वयन गराउन अधिकार सम्पन्न समिति बनाएर कार्यान्यवनको पाटोलाई गम्भिर रुपमा अघि बढाउनुपर्ने बताएका थिए । सोही क्रममा बोल्दै कुखुरा पालक किसान प्रेम गैरेले वैज्ञानिक ढंगले अण्डाको मूल्य वृद्धि गर्नुपर्ने र त्यसलाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा किसानहरुले गुनासै गुनासा सुनाएका थिए । कुखुरा पालक किसान गोविन्द शर्माले पोल्ट्री क्षेत्रमा नयाँ आयाम थप्न सबै गम्भिर भएर लाग्नुपर्ने बताए । उनले भने–‘कि अर्को विकल्प खोजौं, कि यसलाई व्यवस्थित गर्न सबै लागौं ।’
कार्यक्रममा बोल्दै पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईले पोल्ट्री क्षेत्रमा तिव्र गतिमा प्रतिस्पर्धा सुरु भएको भन्दै व्यवसायी आफै सचेत बन्नुपर्ने बताए । उनले भने–‘म सधै १० हजार कुखुरा पालेर नाफा खान्छु भनेर बस्न मिल्ने अवस्था छैन, प्रतिस्पर्धामा सबै आउनुपर्छ ।’
डा भट्टराईले पोल्ट्री क्षेत्रको यो अवस्था आउनु सबैमा कमजोरी रहेको बताए । उनले सबै क्षेत्रमा अण्डाको राम्रो खपत भइरहेको भन्दै विक्री वितरणमा कुनै समस्या नरहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका उपाध्यक्ष विनोद पोखरेलले व्यवसायीबीच एकरुपता नहुँदा अण्डाको मूल्यमा समस्या आएको बताए । उनले भने–‘अण्डा कुहिएर, विक्री नभएर मूल्य नबढेको होइन, व्यवसायीबीच एकरुपता नभएर यो समस्या आएको हो ।’ उपाध्यक्ष पोखरेलले किसानको समस्या समाधानका लागि सबै संघसंस्थाहरु एक भएर लाग्नुको विकल्प नरहेको बताए ।
कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष ऋषिराम पौडेल, नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष अर्जुन कुमार अर्याल, नेपाल पोल्ट्री महासंघका सचिव त्रिलोचन कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>