कृषि

प्रदेश नं ३ सरकारद्धारा पशुपालक किसानलाई साढे छ करोड सहयोग ,चितवनमा अनुदानै अनुदान

Banner

हेटौँडा भदौ २०-

प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपालक किसानलाई गत एक वर्षमा रु छ करोड ५२ लाख अनुदान दिएको छ । पशुपालन व्यवसायको प्रवद्र्धन र विकासका लागि मन्त्रालयले दूध उत्पादक किसानलाई अनुदान, बधशाला निर्माण, दाना उद्योग सञ्चालन आदिका लागि रु छ करोड ५२ लाख वितरण गरेको हो ।

मन्त्रालयले दूधमा अनुदानस्वरुप प्रतिलिटर २५ पैसाको दरले सात वटा जिल्लाको १४९ सहकारीमा रु एक करोड ५० लाख वितरण गरेको छ । यसअघि प्रतिलिटर रु एक वितरण गर्ने भनेकोमा रकम अभावका कारण हाललाई २५ पैसाका दरले मात्रै वितरण गरिएको जनाइएको छ । अनुदान पाउने सहकारीमा चितवनको ७४, मकवानपुरको २२, दोलखाको दुई, काभ्रेको २२ र ललितपुरको २२, धादिङ र नुवाकोटको एक-एक वटा सहकारी छन् । मन्त्रालयले विभिन्न जिल्लामा दाना उद्योग सञ्चालनको लागि रु एक करोड ६५ लाख ५४ हजार वितरण गरेको मन्त्रालयका पशु विकास शाखा अधिकृत डाक्टर सविना मिश्रले जानकारी दिए । उनका अनुसार मन्त्रालयले चितवन, मकवानपुर र दोलखामा दाना उद्योग सञ्चालनमा ल्याउन लागेको छ ।

त्यस्तै मन्त्रालयले चितवन, ललितपुर र मकवानपुरमा तीनवटा पशु बधशाला निर्माणको लागि रु एक करोड ५० लाख दिएको छ । मन्त्रालयले चितवन र धादिङमा तीन÷तीन, सिन्धुली र दोलखामा एक-एक र ललितपुरमा पाँचवटा साना ‘पशु बधस्थल’ निर्माणका लागि रु ८६ लाख ७६ हजार अनुदान रकम वितरण गरेको छ । तीनवटा जिल्लामा ‘चिलिङ भ्याट’ को लागि एक करोड ५० लाख बजेट वितरण गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले रु ९८ लाख २७ हजारको लागतमा २० वटा ‘मिल्क एनलाइज’ खरीद गरी प्रदेशका विभिन्न पाँचवटा जिल्लालाई प्रदान गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>