प्रवास

पोर्तुगलका नेपालीले मनाए तीज

Banner

पुनम गौतम

लिस्वन, पोर्तुगल, भदौं १७

हिन्दू नेपाली नारीको महान पर्व हरितालिका तीजको अवसरमा नेपाली नारी समाज पोर्तुगलले लिस्वनमा वृहत् तीज कार्यक्रम गरेको छ ।

नेपालमा दरखाने दिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा रातो सारीमा बेहुली झैँ सजिएका दिदीबहिनीको बाक्लो उपस्थिति रहेको थियो । समाजले गरेको तीज गीत र नृत्य प्रतियोगिता एवम् विशेष सांस्कृतिक कार्यक्रम–२०१९ मा भाग लिनका लागि उत्तिकै उत्साहसमेत देखिएको थियो । कार्यक्रममा साना नानीहरु आफ्नो प्रतिभा देखाउन आतुर थिए भने उनीहरुले परदेशी भूमिमा आफूमा भएको प्रतिभा देखाउने राम्रो अवसर समेत पाएकोमा खुसी व्यक्त गरेका थिए । वर्षमा एकपटक मनाउने यस पर्वलाई विशेषत दिदीबहिनीहरुले एक महिना अगाडिदेखि नै मनाएता पनि विदेशी भूमिमा समायानुकुल नहुने र लिस्वनमा आइतबार धेरै नेपालीको बिदा हुने भएकाले पनि तीजमा आयोजना गरिएको कार्यक्रमले नेपालीलाई स्वदेशको झल्को मेटाएको छ । स्थापनाकालदेखि नै नेपाली कला, संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै आइरहेको समाजले नेपाली महत्वपूर्ण ठूला चाडपर्वमा यसरी नै कार्यक्रम गर्दै आइरहेको छ । तीज गीतमा नाच्नको लागि बिहान काममा गएर आउने र ब्रेकमा आउनेहरुको पनि कमी भने देखिएन । हरेक वर्ष तीज गीतमा नाच्नका लागि मात्र नभई समाजले नेपालमा परेका हर समस्यामा हातेमालो गर्ने गरेको छ ।

त्यस्तै यसवर्ष पनि कर्णालीको विकट कालिकोटमा निर्माणाधीन रास्कोट हस्पिटल सहयोगार्थ आर्थिक रकम संकलन गरेको छ । त्यसैगरी बिनोद मगर, सन्जय लामा र सीता बराल निर्णायक रहेको तीज गित तथा नृत्य प्रतियोगितामा १० वर्ष मूनिको प्रतियोगितामा क्यारोन चौधरी पहिलो, सुरक्षा आलेमगर दोस्रो, त्यस्तैगरी प्रमिशा अधिकारी र सोनी रोका सामूहिक नृत्यमा पहिलो भएका थिए । यसैगरी १० वर्ष माथिको प्रतियोगितामा आर्जु मल्ल पहिलो र आयुष्मा मल्ल दोस्रो भएका थिए । उत्कृष्टहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

पुरस्कृतहरुलाई नम्रता घिमिरे प्रोप्राइटर रहेको नम व्युटिपार्लरले दुई हप्ते स्पेशल कोर्ष प्रदान गर्नेछ भने मेरो सारीकी प्रोप्राइटर कल्पना कार्की, कान्छी सारीकी प्रोप्राइटर लक्ष्मी परियार र स्मार्ट लुक्स एण्ड व्युटीकी प्रोप्राइटर शान्ति भट्टराई र भ्वाइस अफ नेपाल अनलाइन टिभीले पुरस्कार प्रायोजन गरेको थियो ।

यसैबीच नेपाली नारी समाज पोर्तुगलले गरेको तीज गीत नृत्य प्रतियोगिता एवम् वृहत् सांस्कृतिक कार्यक्रमको औपचारिक कार्यक्रममा ८१ वर्षीय वृद्ध आमा देवकला सापकोटा प्रमुख अतिथि रहेकी थिइन् । त्यसैगरी पोर्तुगलका लागि पर्यटन दूत रमेशकुमार गुरुङ विशिष्ट अतिथि, एनआरएनए, पोर्चुगलका प्रस्तावित आईसीसी सदस्य नारायणकाजी मगर र रविन्द्र अधिकारी, एनआरएनए अध्यक्ष तिलक गैरे, अवैतनिक वाणिज्यदूतका प्रतिनिधि मोहन थापालगायत विभिन्न संघसंस्थालगायतको उपस्थिति रहेको थियो ।

नेपाली नारी समाजकी अध्यक्ष जयकला राईको अध्यक्षतामा भएको कार्यक्रममा पोर्तुगलको सातांै अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाईसहित स्वागत गरिएको थियो । कार्यक्रममा उपस्थितलाई नेपाल सरकार लिसवनका लागि अवैतनिक दूत मकरबहादुर हमालद्वारा फलफूल प्रदान गरिएको थियो । त्यस्तै ठकुरी समाज पोर्तुगलका अध्यक्ष दीपेन्द्र शाहीले पिउने पानी प्रदान गरेका थिए । तामाङ समाजकी अध्यक्ष सुनिता ब्लोन तामाङले कार्यक्रम स्थलमा दर खुवाएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>