Uncategorized
कुकुर र गाई मार्नेलाई कडा कारबाही हुनुपर्छ : पशु अधिकारकर्मी

काठमाडौं, भदौं १६-
स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले खोटाङ दिक्तेलमा कुकुरलाई सामूहिकरुपमा बर्वरतापूर्वक मारिएको र नेपालगञ्जबाट दैलेख पठाइएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनीहरुले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ एउटा सामान्य मानवीय धर्म र पशु कल्याणको आधारभूत मान्यतालाई समेत बेवास्ता गर्दै एउटा जिम्मेवार सरकारी निकायले यतिसम्मको गैरजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण प्रस्ट पारेको छ । हामी यी दुवै घट्नाको घोरभत्र्सना गर्दै दोषीउपर कानुन बमोजिम हदैसम्मको कारबाहीको माग गर्दछौँ ।’
कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले आफूहरु अहिले ऐन, नियम र कानुन निर्माणको चरणमा रहेकोले पशु कल्याणको लागि अब सकारात्मक पहलकदमी लिइने विश्वास दिलाए । पछिल्लो समय पशुमाथि भएको यस्तो निर्दयी र निर्मम घट्नाप्रति पनि उनले दुःख व्यक्त गरे । उनले भने, ‘यो घट्नामा संलग्न दोषीमाथि सरकारले कारबाही गर्नुपर्छ । हामी आफ्नो तर्फबाट दोषीलाई कारबाही गराउनको लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाउँछौं ।’
त्यस्तै, कार्यक्रममा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले खोटाङ र सुर्खेतमा भएका बेग्ला–बेग्लै घट्नाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिन् । उनले नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्रको रुपमा रहिरहँदा विश्व समुदायसँग गरेका प्रतिबद्धता तथा हस्ताक्षर गरिएका सम्झौताहरुको विपरित हुने गरी यस्ता किसिमका गैरजिम्मेवार क्रियाकलापहरु हुनुले राज्य संयन्त्रहरुको आपसी तालमेल कतिसम्म धरासयी छ भन्ने प्रष्ट देखिएको सुनाइन् ।
पशु कल्याण सम्बन्धमा अन्तर्राट्रियस्तरमा भएका सन्धि तथा प्रतिबद्धताको धज्जी उडाउने यस्ता पाशविक क्रियाकलापका विरुद्ध आवश्यक पहलकदमी लिन नसक्ने नियमनकारी निकायको निरीहताले सरकारी प्रतिबद्धताहरु खाली ढोँग र लाज ढाँक्नका लागि जबरजस्ती रुपमा गरिएका थिए कि ? भन्ने प्रतित भएको छ ।’ कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्वसचिव डा. कृष्णचन्द्र पौडेलले अहिले देखिएको समस्या प्रतिनिधि समस्या मात्रै भएकोले यसको दिर्घकालिन समाधानको लागि सरोकारवाला निकायबाट जिम्मेवारपूर्ण पहल हुनुपर्नेमा जोड दिए ।
त्यस्तै, अधिवक्ता पदमबहादुर श्रेष्ठले नेपालमा पशु कल्याण सम्बन्धमा रहेका कानूनी व्यवस्था र प्रावधानहरु परिपालन हुनुपर्ने बताए । उनले तत्काल पशु कल्याण ऐन जारी गरी पशुप्रति हुने क्रुरतालाई रोक्न सकिने सुझाए ।
अर्का वक्ता नारायणप्रसाद घिमिरेले खोटाङ र सुर्खेतमा भएको घटनाप्रति भत्र्सना गर्दै सरकारले दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे । उनले जिवित गाईवस्तुहरुको संरक्षणको लागि लाग्नुपर्नेमा जोड दिए । कैलालीको घोडाघोडीमा भएको गौहत्यालाई स्मरण गर्दै अहिले पनि त्यस्तै पाशविक घट्ना घटाइएकोमा दुःखेसो पोखे ।
छाडा पशु चौपायाको संरक्षण र व्यवस्थापनको लागि तीन तहका सरकारबीच समन्वय नभएको र बरु उल्टै एक अर्काको मुख ताक्ने काम भएको उनको गुनासो छ । नेपालको संविधानमै गाईहत्या गर्न नपाइने कडा व्यवस्था भएकोले कानूनको पूर्णपालना गर्नुपर्नेमा उनको जोड छ ।
























