चितवन विशेष
भरतपुर महानगरकै ८ वडामा अझै छैनन् स्वास्थ्यसंस्था

चितवन, भदौ १४-
राज्यले स्थानीय तहमा चिकित्सकसहितको स्वास्थ्य संस्था र हरेक वडामा कम्तीमा एउटा स्वास्थ्यसंस्था स्थापना गर्ने नीति लिएको छ । तर, तुलनात्मक रूपमा सबल मानिएको भरतपुर महानगरपालिकाकै ८ वडा अझै पनि स्वास्थ्यसंस्थाविहीन छन् ।
२९ वडा रहेको महानगरपालिकाका ३, ७, १०, १२, १३, २०, २४ र २८ नम्बर वडामा स्वास्थ्यसंस्था पुग्न नसकेको महानगरपालिकाले जानकारी दिएको छ । ‘सामान्य ज्वरो आउँदा पनि भरतपुर आउनुपर्ने बाध्यता छ । हाम्रो वडामा स्वास्थ्यचौकीसमेत छैन,’ ज्वरोको उपचार गराउन भरतपुर अस्पताल आएकी भरतपुर–२८ साझापुरकी शिवकुमारी कुमालले भनिन्, ‘घरबाट ३० किलोमिटरभन्दा बढीको दूरी पार गरेर उपचार गराउनुपरेको छ ।’
भरतपुर महानगरपालिकाभित्र ३० वटा सरकारी स्वास्थ्यसंस्था छन् । भरतपुर महानगरभित्र स्वास्थ्यचौकी १३, नगर स्वास्थ्यचौकी ९, आयुर्वेदिक औषधालय ६, प्राथमिक स्वास्थ्यचौकी १, सहरी स्वास्थ्य प्रवर्धन केन्द्र्र १ गरी जम्मा ३० वटा स्वास्थ्यसेवा केन्द्र छन् । यी संस्थाले महानगरभित्रका तीन लाख ३३ हजार जनसंख्यालाई उपचार सेवा दिँदै आएका छन् । स्वास्थ्यलाई सर्वसुलभ र सहज बनाउने सरकारको निती रहेपनि काम हुन सकेको छैन् । यो बर्ष महानगरपालिकामा एउटा सहरी प्रर्वद्धन केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ । कुन वडामा स्थापना गर्ने भन्ने एकीन भने गरिएको छैन ।
यीमध्ये स्वास्थ्यचौकीका आफ्नै भवन छन् । ९ वटा नगर स्वास्थ्यकेन्द्रमध्ये ठिमुराको मात्र आफ्नो भवन छ । आँपटारी, दुर्गाचोक, आन्नदपुर, तोरीखेत, जलदेवी वन, शशिनगर, कसरा र चौकीडाँडामा रहेका नगर स्वास्थ्यचौकी भाडाको घरमा बसेको जनस्वास्थ्य सेवा प्रवाह गरेका छन् । भाडाको भवनमा बसेर सेवा प्रवाह गर्दा उपचारमा समस्या आउने गरेको महानगरपालिकाले स्वयम बताएको छ । स्वास्थ्य संस्थाको भवन निर्माणको लागि महानगरपालिकाले यस बर्ष बजेट समेत विनियोजन गरेको छ ।
महानगरले चालू आवमा स्वास्थ्यचौकीका नयाँ भवन निर्माणका लागि दुई करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । ‘महानगरभित्रका नगर स्वास्थ्य केन्द्रहरू भाडामा छन् । यो वर्ष दुई वटा नगर स्वास्थ्यकेन्द्रको भवन निर्माण गर्ने लक्ष्य छ,’ स्वास्थ्य शाखाका प्रमुख जीवनकुमार श्रेष्ठले भने, ‘आफ्नै भवन भएका स्वास्थ्यचौकीहरूको अवस्था पनि नाजुक छ । स्वास्थ्यकेन्द्रको भवन मर्मतका लागि ४० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।’
मेयरको राजनीतिक कार्यक्रम रु १ लाख ७ हजार सेवाग्राही
भरतपुर महानगरपालिकाकी मेयर रेणुु दाहालले शपथ लिएसँगै भरतपुर अस्पतालमा महिला र ज्येष्ठनागरिकलाई निःशुल्क टिकटको घोषणा गरेकी थिइन् । यसअन्तर्गत २३ साउन ०७४ देखि गत असार मसान्तसम्म १ लाख ७ हजार बिरामीले सेवा लिएका छन् । यसमध्ये ९१ हजार ८३ महिला र १६ हजार ७१ जना ज्येष्ठनागरिक रहेको भरतपुर महानगरपालिकाले जानकारी दिएको छ । उल्लेखित बिरामीको ओपिडी टिकटबापत महानगरपालिकाले अस्पताललाई २९ लाख ९८ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेको छ । अस्पतालले ज्येष्ठ नागरिकका लागि १५ रुपैयाँ र महिलाका लागि ३० रुपैयाँ ओपिडी टिकट शुल्क निर्धारण गरेको भरतपुर अस्पतालका तथ्यांक अधिकृत नारायणप्रसाद रिजालले जानकारी दिए ।
























