चितवन विशेष
चितवनमा भित्रियो विषादी परीक्षण मेसिन,छिट्टै सञ्चालन हुने

चितवन,साउन १७-
खाद्यवस्तुमा विषादी परीक्षण गर्ने आधुनिक प्रयोगशाला चितवनमा ल्याईएको छ ।
कृषि ज्ञान केन्द्र चितवनले किसानले उत्पादन गरेका वा आयात गरिएका तरकारी, फलफूललगायत खाद्यवस्तुमा खान योग्य वा अयोग्य भएको परीक्षण गर्न प्रयोशाला ल्याएको हो । प्रदेश नम्बर ३ को कृषि मन्त्रालयको सहयोगमा चितवनको कृषि ज्ञान केन्द्रमा सञ्चालन गनेगरि विषादी मापन प्रयोगशालाको उपकरणहरु ल्याईएको ज्ञान केन्द्रका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए ।
‘ताजा तरकारी र फलफूलमा अधिक मात्रामा विषादीको प्रयोग भएको छ । यसले मानव स्वास्थ्यलाई समेत असर पुग्ने गरेको छ । यसै समयमा सरकारले तरकारी आउने नाकामा र संकलन हुने केन्द्रमा तरकारीको विषादी मापन गर्ने प्रयोगशाला प्रयोग गर्ने नीति ल्याएको छ,’ श्रेष्ठले भने, ‘त्यसै अनुरुप कृषि ज्ञान केन्द्रमा पनि विषादी मापन प्रयोगशाला स्थापना गर्ने गरी आवश्यक मापन उपकरण आएको हो ।’
प्रदेश सरकारले ३५ लाखको लगानीमा विषादी परीक्षण गर्ने आधुनिक प्रयोशाला चितवनमा ल्याएको हो । प्रयोगशाला सञ्चालनको लागि प्रदेश सरकारले कृषि ज्ञान केन्द्रका तीन जना प्राविधिकलाई तालिम दिईरहेको छ । बाँकी दुई जना प्राविधिक प्रदेश मन्त्रालयले नियुक्ति गर्ने भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ३ का प्रवक्ता निर्मल गदालले जानकारी दिए । प्रयोगशाला सञ्चालनका लागि अहिले कृषि ज्ञान केन्द्र चितवनमा फर्निचरका कामहरु सुरु भइसकेको छ । यसलाई छिट्टै सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार रहेको छ । माटो परीक्षण स्थानीय तहले गर्ने र विषादीको नियमन कृषिका कर्मचारीले गर्ने गरी कार्यायोजना बनाईएको गदालले बताए ।
यो उपकरणले खाद्यवस्तुमा भएको कार्वामेट र अग्र्यानोफोस्फेट नामक दुई समूहका विषादीको अवस्था पत्ता लगाउन सहयोग गर्ने कृषि मन्त्रालयका प्रवक्ता निर्मल गदालले जानकारी दिए । उनका अनुसार विषादीका धेरै समूहमध्ये अधिकतम प्रयोग हुने अग्र्यानोफोस्फेट समूहका हुन् । यद्यपी यो उपकरण र प्रयोगशालाबाट कति प्रतिशत कुन विषादी रहेको छ भन्ने जानकारी भने प्राप्त गर्न सकिदैन ।
‘कुनै खाद्यवस्तु खान योग्य छ कि छैन भनेर प्रयोगशाला परीक्षणबाट मापन गर्न सकिन्छ,’ उनले भने, ‘विषादीको मात्रा प्रतिशतमा नदेखाए पनि ३५ ‘इन्हिविसन’सम्म मापन भएका खाद्यवस्तु खान योग्य मानिन्छ भने ४५ भन्दा माथिका वस्तुहरु नष्ट नै गर्नुपर्ने हुन्छ ।’ तर केही दिन राखेर पुनः परीक्षण गर्दा ४५ भन्दा तल घटेको अवस्थामा त्यो वस्तु केही दिन राखेर खान मिल्ने उनले बताए ।
जनस्वास्थ्यलाई ध्यानमा राखेर प्रदेश सरकारले छोटो बाटोबाट प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको उनले बताए । प्रदेश सरकारले विषादी अवशेष दु्रत विश्लेषण इकाई स्थापना गरेर प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । प्रदेश सरकारले जनस्वास्थ्यलाई ध्यान दिँदै प्रयोगशाला स्थापनामा जोड दिएको थियो । प्रदेश सरकारले कार्यविधि बनाएर प्रदेशमा विषादी नियन्त्रण गर्न लागेको छ ।
चितवनमा प्रयोगशाला भित्रिएसंगै उपभोक्ता तथा व्यापारीहरु पनि उत्साहित भएका छन् । ‘चितवन जिल्लामा विषादी मापनयन्त्र भित्रिएको छ । ‘हामी चितवनका आम उपभोक्ताहरु विषादी तरकारी खाईरहेका छौँ । यो प्रयोगशाला आएपछि खान योग्य मात्र प्रयोग गर्न पाउँछौँ,’ फलफूल तथा तरकारी बजार महानगरका प्रवन्ध निर्देशक थीरसाद धितालले भने, ‘प्रयोगशालालाई प्रयोगमा ल्याउँदा बजार अर्थात उत्पादन क्षेत्रमा राख्नुपर्दछ ।’
दैनिक उपभोग्य फलफूल तथा तरकारीमा विषादी प्रयोग भएकाले त्यसलाई नियन्त्रण गर्न किसानलाई विषादी नियन्त्रण सम्वन्धि चेतना दिनुपर्ने उनले बताए । प्रदेश सरकारले चितवनसहित तरकारी संकलन हुने प्रमुख जिल्ला मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोक र ललितपुरमा पनि विषादी मापन प्रयोगशाला स्थापना गर्न लागेको छ । मन्त्रीस्तरको बैठकले प्रदेश नम्बर तीनलाई विषादी मुक्त प्रदेश बनाउनका लागि नीति पनि ल्याउन लागेको मन्त्रालयले जानकारी दिएको छ ।
























