गण्डकी

तीन तहका सरकारको कदम एउटै भए मुलुकमा चमत्कार: मुख्यमन्त्री गुरूङ

Banner

तनहुँ, असार ९

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीन तहका सरकारले एक्लाएक्लै हिँडे समृद्धि सम्भव नहुने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाको आज दुलेगौडामा आयोजित पाँचौँ नगरसभालाई सम्बोधन गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

उनले तीन तहका सरकारको लक्ष्य र उद्देश्य एउटै भएकोले सबै सरकारहरु एउटै दिशामा हिँड्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री गुरुङले भने, ‘प्रधानमन्त्री केपी ओली, सात वटा मुख्यमन्त्री र ७५३ वटा स्थानीय तहका प्रमुख एउटै डुङ्गामा सवार छौँ, सबैको सहकार्य भए मात्रै डुङ्गा पार लगाउन सक्छौँ, विकासका सवालमा पनि सबै एक हुन आवश्यक छ ।’ उनले तीन तहका सरकारको कदम एउटै भए अबका दश वर्षभित्र मुलुकमा चमत्कार हुने दाबी गरे ।

उनले नीति तथा कार्यक्रममा आधारित भएर बजेट ल्याउनुपर्नेमा जोड दिँदै धेरै स्थानीय तहले नीति र बजेट एकसाथ पेस गरेको गुनासो गरे । उनले भने, ‘पहिला नीति तथा कार्यक्रम ल्याउने, त्यसमाथि छलफल गर्ने र नीति तथा कार्यक्रम पारित भएपछि बजेट ल्याउने पद्धति हो । तर केही स्थानीय तहहरुले पद्धति अनुसरण गर्न सकेनन् ।’

केन्द्र सरकारको भर पर्नुभन्दा स्थानीय तहले आम्दानीको स्रोत बढाउनुपर्नेमा सुझाव दिँदै मुख्यमन्त्री गुरुङले त्यसका लागि करको दायरालाई फराकिलो बनाउनुपर्ने बताए । प्रदेश सांसद आशा कोइरालाले गरिबी र बेरोजगारी विकासको बाधक रहेकोले स्थानीय तहहरुले गरिबी र बेरोजगारी निवारणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।

सो अवसरमा नगरपालिकाका उपप्रमुख सविता रसाइलीले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन्। प्रत्येक वडाका टोलमा पुगेर जनताका आवश्यकता र मागलाई प्राथमिकतामा राखेर योजना छनौट गरिएको उपप्रमुख रसाइलीले जानकारी दिइन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>