देश/प्रदेश

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

०
Banner

सोलुखुम्बु,मङ्सिर ६-

यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो अवधिमा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको हो ।

प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो सात दिनको अवधिमा हवाई मार्गमार्फत सगरमाथा क्षेत्र (खुम्बु)बाट एक हजार १८० पर्यटक बाहिरिएका छन् भने ५२९ पर्यटक प्रवेश गरेका छन् । प्रवेश गर्ने पर्यटकको तुलनामा बाहिरिनेको सङ्ख्या ६५१ ले बढी छ । बाहिरिने पर्यटकको सङ्ख्या प्रवेश गर्नेको तुलनामा दुई गुणाभन्दा बढी देखिएको तथ्याङ्कले शरद् पर्यटन ‘सिजन’ क्रमशः सकिँदै गएको सङ्केत गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार उपलब्ध साप्ताहिक विवरणमा बाहिरिने विदेशी पर्यटकको सङ्ख्या ८७७ र स्वदेशी पर्यटकको सङ्ख्या ३०३ रहेको छ । सोही अवधिमा खुम्बु क्षेत्रमा ३७४ विदेशी र १५५ जना स्वदेशी पर्यटक भित्रिएका छन् ।

विवरणअनुसार खुम्बु क्षेत्रबाट बाहिरिने विदेशी पर्यटकमध्ये ३२७ महिला र ५५० पुरुष छन् । स्वदेशी पर्यटकमध्ये ४६ महिला र २५७ पुरुष बाहिरिएका छन् । यसैगरी, खुम्बु क्षेत्रमा प्रवेश गर्ने विदेशी पर्यटकमध्ये १०२ महिला र २७२ पुरुष छन् भने स्वदेशी पर्यटकमध्ये ५४ महिला र १०१ पुरुष छन् । खुम्बुमा चिसो बढेसँगै पर्यटकहरु फर्किने क्रम बढेको स्थानीय दाली शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “नाम्चे क्षेत्रमा नै रातको समयमा तापक्रम माइनसमा जान थालेको छ, रात र बिहानको समयमा तापक्रम माइनसमा गएपछि पानी जम्न सुरु भएको छ, त्यसैले चिसो बढेको महसुस भएको हो ।”

सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय सिजनमध्ये शरद् ऋतुमा असोज र कात्तिक महिनामा पर्यटकको चाप बढी हुने गर्दछ । मनसुन सकिएपछि मौसम खुल्ने, हिमाल स्पष्ट देखिने तथा पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यस क्षेत्रमा पर्यटकको आगमन बढ्ने गरेको पाइन्छ । तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्दै जाने, राति अत्यधिक चिसो हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढ्ने भएकाले पर्यटक फर्कने क्रम तीव्र हुने गरेको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाले उच्च हिमाली क्षेत्रमा चिसो बढेसँगै पर्यटकको बसाइ अवधि र गतिविधिमा प्रभाव पर्ने बताउनुभयो । सिजनको अन्तिमतिर मौसमको अवस्था, तापक्रम, हिमपातको सम्भावना र पदयात्राको अवस्थालाई ध्यानमा राखेर पर्यटकले यात्रा व्यवस्थापन गर्ने भएकाले फर्कने क्रम बढ्ने उहाँको भनाइ छ ।

खुम्बु क्षेत्रको पर्यटन गतिविधि मौसमसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै शेर्पाले पर्यटकको आवागमनमा मौसमी परिवर्तनको प्रभाव पर्ने बताउनुभयो । शरद् सिजनमा पर्यटकको चाप बढी हुने भए पनि जाडो सुरु भएपछि उच्च हिमाली क्षेत्रको यात्रा कठिन हुँदै जाने र पर्यटकको सङ्ख्या घट्ने पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले बताउनुभयो ।

लुक्लास्थित तारा एयरका स्टेसन इन्चार्ज अमृत मगरका अनुसार पर्यटकको आवागमनमा मौसमी अवस्था र पर्यटन सिजनको प्रभाव देखिने गरेको छ । पर्यटकको चाप बढी हुँदा हवाई आवागमन पनि बढ्ने तथा सिजन कमजोर हुँदै जाँदा पर्यटक बाहिरिने क्रम बढ्ने उहाँको भनाइ छ । “मौसमको अवस्था हवाई उडानका लागि महत्वपूर्ण हुने भएकाले लुक्ला विमानस्थलबाट हुने उडान गतिविधि पनि मौसमअनुसार प्रभावित हुन्छ,” इन्चार्ज मगरले भन्नुभयो ।

चिसो बढ्न थालेपछि पर्यटकको आवागमन र स्थानीय पर्यटन व्यवसाय गतिविधिमा परिवर्तन देखिन थालेको लुक्लाका स्थानीय तोयाकुमार श्रेष्ठले बताउनुभयो । पर्यटकको चाप रहने मुख्य सिजन सकिन लाग्दा होटल, पसल, पदयात्रा सेवा तथा अन्य पर्यटन व्यवसायमा गतिविधि क्रमशः कम हुँदै जाने स्थानीयको अनुभव छ । उच्च क्षेत्रमा चिसो बढ्ने क्रमसँगै पर्यटकले यात्रा छोट्याउने वा तल्लो क्षेत्रतर्फ फर्कने प्रवृत्ति देखिने उहाँको भनाइ छ ।

प्रहरीको पछिल्लो साप्ताहिक विवरणमा उक्त अवधिमा ६९ वटा प्लेन फ्लाइट र २८ वटा हेलिकप्टर फ्लाइट भएको पनि उल्लेख गरिएको छ । खुम्बु क्षेत्रमा पर्यटकको आवागमनका लागि हवाई सेवा महत्वपूर्ण माध्यम रहेकाले मौसम, पर्यटकको चाप र सिजनको अवस्थाले उडान गतिविधिमा प्रभाव पार्ने गरेको छ ।

सगरमाथा क्षेत्र नेपालको प्रमुख हिमाली पर्यटन गन्तव्य हो । सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा आधार शिविर, नाम्चे बजार, खुम्जुङ, गोक्यो, थामे, लुक्लालगायत क्षेत्र पदयात्रा, हिमाल अवलोकन तथा पर्वतारोहणका लागि अन्तरराष्ट्रिय पर्यटकको आकर्षणका केन्द्र हुन् । वसन्त र शरद् गरी दुई मुख्य पर्यटन सिजनमा यहाँ पर्यटकको आवागमन बढी हुने पर्यटनविद् आङछिरिङ शेर्पा बताउनुहुन्छ ।

वसन्त सिजन फागुनदेखि जेठसम्म तथा शरद् सिजन भदौको अन्त्यदेखि मङ्सिरसम्म मुख्य पर्यटन अवधि मानिन्छ । शरद् सिजनमा असोज र कात्तिकमा पर्यटकको चाप बढी रहने भए पनि सिजन सकिँदै जाँदा उच्च हिमाली क्षेत्रको तापक्रम घट्ने र मौसममा परिवर्तन आउने क्रमले पर्यटन गतिविधि प्रभावित हुने खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारी बताउनुहुन्छ ।

प्रहरीको पछिल्लो साप्ताहिक तथ्याङ्कमा खुम्बु क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या प्रवेश गर्नेभन्दा उल्लेखनीय रूपमा बढी देखिनुले शरद् सिजनको अन्तिम चरणमा पर्यटक फर्कने क्रम तीव्र भएको सङ्केत गरेको छ ।

उच्च हिमाली क्षेत्रमा चिसो बढ्दै जाँदा आगामी दिनमा मौसम प्रतिकूल हुन सक्ने अवस्थाले पर्यटकको आवागमनमा मौसमी परिवर्तनको प्रभाव देखिन सक्ने पर्यटन व्यवसायी तेम्बाछिरि शेर्पाको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>