चितवन विशेष

आधुनिकीकरणसँगै चितवनमा योगप्रति आकर्षण बढ्यो

Banner

मधुसूदन दवाडी,

चितवन, असार ६–

आज विश्व योग दिवस । योगको महत्वलाई दृष्टिगत गर्दै संयुक्त राष्ट्रसंघले पाँच वर्षदेखि हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको छ । सन् २०१४ मा संयुक्त राष्ट्र संघको ६९ औं साधारण सभाबाट यस दिनलाई विश्व योग दिवसको रुपमा मनाउन प्रस्ताव भए अनुसार सो प्रस्तावलाई १७५ देशले अनुमोदन गरेका थिए ।

नेपालमा पनि हरेक वर्ष योग तथा आध्यात्मको प्रचारप्रसार गर्ने उद्देश्यले विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सन् २०१६ मा दर्ता गरेको छ ।

पछिल्लो समय चितवनमा पनि योग सिक्ने र सिकाउने क्रियाकलाप ह्वात्तै बढ्दै गएको छ । पतञ्जली योग समिति चितवनले आज प्रहरी तालिम केन्द्रमा ‘गरौँं योग, रहौं निरोग’ भन्ने नारासहित वृहत योग कार्यक्रम सञ्चालन गर्दैछ ।

मेडिकल सिटीको रुपमा भरतपुर चिनिँदै गए पनि मानिसहरुमा योग र आयुर्वेदप्रतिको आकर्षण हरेक दिन वृद्धि भएको योग गुरुहरु बताउँछन् । चितवनमा पतञ्जलीको हठ योग, रविशंकरको सुदर्शन क्रिया, बुद्धको विपश्यना र ओमशान्तिको राजयोग प्रचलनमा रहेका छन् । हरेक योगमा मानिसहरुको आकर्षण त्यत्तिकै देखिन्छ ।

पतञ्जली योग समिति नेपालका केन्द्रीय सदस्य विष्णुप्रसाद दवाडीले स्वास्थ्यप्रति मानिसहरुको जनचेतना बढ्दै गएकोले पनि मानिसहरु योगाप्रति आकर्षित हुँदै गएको बताए । उनले भने,‘दैनिक चितवनमा ४० वटा योग शिविरहरु सञ्चालन हुन्छन् । जुन प्रत्येक शिविरमा १५ जनादेखि एक सय जनासम्मको सहभागिता रहन्छ ।’ कुनै शिविरमा नगई घरमा नै बसेर योग गर्नेहरुको संख्या पनि उल्लेख्य रहेको उनले बताए । केन्द्रीय सदस्य दवाडीले कतिपय रोग विशेषलाई विशेष योग अभ्यासहरु पनि सञ्चालन गरिने जानकारी दिए ।

त्यसैगरी पतञ्जली योग समिति चितवनका अध्यक्ष रामप्रसाद ओस्तीले दिवसको अवसरमा भरतपुरको प्रहरी तालिम केन्द्रमा सञ्चालन हुने योग कार्यक्रममाझण्डै तीन हजारको सहभागिता रहने बताए । त्यस्तै रत्ननगरको टाँडीमा र पश्चिम चितवनको शुक्रनगरमा पनि त्यँित्तकै संख्यामा मानिसहरुको सहभागिता रहने उनले बताए । मानिसहरुको रहनसहन, खानपान र तनावपूर्ण जीवनशैलीले गर्दा पनि योग गर्नेको संख्या बढ्दै गएको उनको विश्लेषण छ ।

बिगत लामो समयदेखि योगमा सक्रिय रहँदै आएका साधकहरु पनि योगले जीवनमा ठूलो परिवर्तन ल्याएको दाबी गर्छन् । कतिपयको घरमा सबैजना परिवारका सदस्य नियमित योगमा सक्रिए भएको पनि देखिन्छ । चाहे बालक हुन् वा वृद्ध सबैको योगमा उत्साहजनक सहभागिता देखिन्छ । विगत तीन वर्षदेखि नियमित योग अभ्यास गर्दै आएका भरतपुर महानगरपालिका–७ कृष्णपुरका ४५ वर्षीय टेकप्रसाद चापागाई योगले आफ्नो जीवनमा ठूलो परिवर्तन आएको दाबी गर्छन् । उनले भने,‘बिना अपरेसन मेरो पत्थरी र अल्सर निको भयो ।’ कतारमा १२ वर्ष काम गरेर नेपाल फर्किएका उनको घरका सबै जना अहिले योग अभ्यासमा जुट्ने गर्छन् । उनले योगबाट मनमा नकारात्मक भावना पनि नआउने बताए । अहिले कृष्णपुरको आदर्श गृहमा आश्रित बालबालिका र महिलाहरुलाई नियमित योग सिकाइ रहेका उनले भने,‘योगले जिउँदै स्वर्ग देखिन्छ ।’

योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ ।

योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् । हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले सुरुवात गरेको योगमा १९५ वटा योगसूत्र सम्माहित छन् । योगसूत्रको श्रेय भने आदियोगी भगवान् शिवलाई नै दिइन्छ । शिवबाट सुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको विश्वास गरिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>