विजनेश

सूनको मूल्य आकाशियो, तोलाकै ६४ हजार

Banner

काठमाडौँ, असार ५

नेपालको इतिहासमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै आज तोलामा ६४ हजार रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । यसअघि सुन प्रतितोला ६३ हजार तीन सय रुपैयाँभन्दा बढी मूल्यमा कारोबार नभएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। २०७५ साल फागुन ८ गते सुन प्रतितोला ६३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो रेकर्ड तोड्दै सुनले आज ६४ हजारको नयाँ रेकर्ड कायम गरेको हो । अघिल्लो दिन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक हजार रुपैयाँ बढेको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । बजेट भाषणको अघिल्लो दिन ५९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन एकै दिन एक हजार पाँच सय रुपैयाँले बढेर ६१ हजार रुपैयाँ पुगेको थियो । त्यसयता सुन निरन्तर उकालो लाग्दै २० दिनको अवधिमा तोलामा चार हजार पाँच सय रुपैयाँ बढिसकेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दा त्यसको असर परेको शाक्य बताउँछन् । ‘अन्तर्राष्ट्रिय बजारमै सुन महँगिएपछि त्यसको असर परेको हो’ उनले भने । त्यस्तै बजेटमा बढाइएको भन्सार दरले पनि सुन महंगो भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघका अध्यक्ष रमेश महर्जनले बताए।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार ३८१ डलर पुगेको छ । बिहीबार पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेको छ । पोर्चुगलले एक हजार अमेरिकी सेना फिर्ता पठाउने निर्णय गरेपछि दुई देशबीच उत्पन्न तनाव पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुको मुख्य कारण रहेको शाक्य बताउँछन् । ‘जब शक्तिशाली मुलुकहरुबीच विवाद र द्वन्द्व बढ्छ, त्यसले सुनको मूल्यमा असर पर्छ’ उनले भने । अन्तर्राष्ट्रिय द्वन्द्व बढ्दा लगानीकर्ता सुनतर्फ आकर्षित हुने र त्यसले माग बढाउने भएकाले मूल्य महँगिने गरेको व्यवसायी बताउँछन् । अमेरिका र चाइनाबीच चलिरहेको ट्रेड वार, अमेरिका र भारचबीचमा भएको ब्यापारिक तनाव सुनको मूल्य बढ्नुका अरु सहायक कारण भएको व्यवसायीको भनाइ छ । अन्तर्राष्ट्रिय क्षेत्रमा चलिरहेका यी विवाद नसुल्झिए सुनको मूल्य अझै बढ्नसक्ने व्यवसायी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>