समाचार

स्थानीय तहमा दातृ निकायले आफूखुसी काम गर्न नपाउने: मन्त्री पण्डित

Banner

काठमाडौँ, असार ५-

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा दातृ निकायले आफूखुसी कार्यक्रम सञ्चालन गर्न नपाउने बताएका छन् । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले आज गरेको ‘स्थानीय तहको क्षमता अभिवृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै उनले भने, “दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अभिमुखीकरणसँग जोडिएर कुनै पनि कार्यक्रम गर्दा प्रादेशिक तथा स्थानीय तह क्षमता विकास कार्यक्रमसँग समन्वय गरेर मात्र काम गर्नुपर्दछ ।’

मन्त्री पण्डितले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिको क्षमता बढाउनका लागि निरन्तर सरकारले काम गरिरहेको बताए । उनले संघीयता कार्यान्वयनको चरणमा सुरु सुरुको बेलामा काममा अप्ठ्यारा भए पनि अहिले भने कानून र कर्मचारी पुगेकाले सजिलो भएको उल्लेख गरे ।

उनले स्थानीय तहले आफूसँग भएको अधिकार पर्याप्त प्रयोग नगर्दा अहिले काम नदेखिएको भन्दै अधिकार प्रयोग गरी परिमाण ल्याउने गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पितकुमार श्रेष्ठले यहाँका स्थानीय तह र विदेशका स्थानीय तहको सेवा सञ्चालनको अभ्यासबारे जानकारी गराउने उद्देश्यले सम्मेलन गरिएको जानकारी दिए ।

उनले सम्मेलनले स्थानीय तहको जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासका लागि भएको नीतिगत व्यवस्था, चुनौती र समाधानका उपायबारे समेत छलफल हुने बताए। सम्मेलनमा स्थानीय तहका क्षमता विकास, नीति नियम, चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरिने छ ।

सम्मेलनमा जापान, भारतबाट आएका स्थानीय तहका विज्ञले समेत आफ्नो अनुभव साटसाट गर्ने प्रतिष्ठानका व्यवस्थापक अधिकृत योगमाया सापकोटाले जानकारी दिइन् । सम्मेलनमा उपत्यकाका १०० जना जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>