नवलपरासी

परासीमा दुई हप्तादेखि फोहर उठेन, बजार दुर्गन्धित

Banner

मोहन पौडेल,

परासी असार ४-

केही दिनदेखि बजारको फोहर नउठ्दा पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार दुर्गन्धित बन्न थालेको छ । रामग्राम नगरपालिकाले फोहर नउठाउँदा परासीको बुद्धचोकसहित बजार क्षेत्रमा फोहरको थुप्रो लागेको छ । दुई हप्तादेखि फोहर नउठेको स्थानीयवासीले बताएका छन् । नगरपालिकाले फोहर विसर्जन गर्दै अएको स्थानका स्थानीयवासीले फोहर विर्सजनमा अवरोध गरेपछि नगरपालिकाले बजारको फोहर व्यवस्थापन गर्न सकेको छैन । २०५३ सालमा स्थापना भएको जिल्लाकै पुरानो रामग्राम नगरपालिकाले वडा नं ८ स्थित झरही नदी किनारमा स्थापनादेखि नै फोहर विसर्जन गर्दै आएको थियो । शुरुमा त्यहाँ मानव बस्ती थिएन । फोहर लगेर जलाउने गरिएको थियो ।

हाल उक्त स्थानमा बस्ती बसेको र त्यहाँ फोहर फाल्दा दुर्गन्ध, धुवाँ, धुलोले स्वास्थ्य प्रतिकूल असर पर्नाका साथै वरपर बस्नै नसक्ने गरी सास्ती खेप्नुपरेको भन्दै स्थानीयवासीले विरोध गरेको वडाध्यक्ष महेन्द्र ठाकुरले बताउनुभयो । फोहर व्यवस्थापनका लागि नगरपालिकाले ल्याण्डफिल साइट नबनाएकाले तत्कालै अन्यत्र फोहर विसर्जन गर्ने स्थान पनि नभएको ठाकुरको भनाइ छ ।

नगरपालिका–१, २, ३, ५ र ६ मा सङ्कलन हुने फोहर अहिले सडकमै यत्रतत्र छरिएको छ । यहाँबाट दैनिक तीन टन फोहर सङ्कलन हुने गरेको नगरपालिकका शहरी विकास शाखाप्रमुख भगवती यादवले बताउनुभयो । बजारमा जताततै फोहरको थुप्रो लाग्न थालेपछि सर्वसाधरण नाक छोपेर हिँड्न थालेका छन् । फोहर व्यवस्थापनमा नगरपालिकाले चासो नदिएको नगरवासी गुनासो गर्छन् । चर्को गर्मीको बेला सडकमै सड्न थालेका फोहरको गन्धले समस्या भएको स्थानीय व्यापारी भरत चौहानले बताउनुभयो ।

नगरपालिकाले वडा नं १ स्थित सण्डामा ल्याण्डफिल साइट बनाउने भनी केही वर्षअगाडि नै जग्गा पहिचान गरे पनि त्यहाँ कुनै किसिमको काम अघि बढाउन सकेको छैन । ल्याण्डफिल साइट बनाउने जग्गामा पुग्नका लागि सडक मार्गसहित व्यवस्थित गर्न ठूलो लगानी आवश्यक रहेकाले तत्कालै त्यहाँ साइट बन्ने सम्भावना नरहेको नगरपालिका स्रोत बताउँछ ।

रामग्राम नगरपालिकका प्रमुुख नरेन्द्रकुमार गुप्ताले फोहर व्यवस्थापनको समस्या छिट्टै समाधान हुने बताउनुहुन्छ । आफू त्यसको सहजीकरणमा लागिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख गुप्ताले नगरपालिकाले हालसम्म फोहर विसर्जन गर्दै आएको स्थानमा अव्यवस्थित बसोबास रहेकाले त्यसलाई व्यवस्थापन गरी फोहर व्यवस्थापन गर्ने जानकारी दिनुभयो ।

सात वटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा कुनै पनि स्थानीय तहले ल्याण्डफिल साइट नबनाउँदा फोहर व्यवस्थापन चुनौती बन्दै गएको छ । जिल्लाका सात वटा स्थानीय तहले ल्याण्डफिल साइटको अभावमा खोला किनार र जङ्गलमा फोहर विर्सजन गरिरहेका छन् ।

सरावल गाउँपालिकाले पनि वडा नं १ को गिद्ध रेष्टुरेण्ट नजीकै जङ्गलमा फोहर विसर्जन गरिरहेकामा स्थानीयवासीबाट अवरोध भएपछि अहिले त्यसको केही माथि खाल्डो खनेर पुर्ने गरी व्यवस्थापन गरिरहेको छ । सुनवल नगरपालिकाले पनि जङ्गल क्षेत्रमा फोहर व्यवस्थापन गर्दै आएको छ । मानव बस्ती बढ्दै गएपछि अब विकल्प खोज्नुपर्ने भन्दै आवाज उठिरहेको छ । ल्याण्डफिल साइट निर्माण गरी फोहरबाट आयआर्जनसमेत गर्ने गरी योजना बनिरहेको भन्दै नगरउपप्रमुख दधिराम अर्यालले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको बताउनुहुन्छ । सुनवल नगरपालिकाले दैनिक तीन वटा टिप्परमार्फत फोहर सङ्कलन गर्दै आएको छ ।

जङ्गलमै फोहर विसर्जन गर्दै आएको बर्दघाट नगरपालिकालाई पनि फोहर व्यवस्थापनका लागि वैकल्पिक ठाउँ खोज्नुपर्ने अवस्था छ । हाल फोहर विसर्जन गर्दै आएको ठाउँको ठीक माथिपट्टि खानेपानीको आयोजना रहेको र दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले अन्यत्र सार्न आग्रह गर्दै आएका छन् ।

एउटा मात्र स्थानीय तहको लगानीले सुविधासम्पन्न ल्याण्डफिल साइट बनाउन नसकिने भएकाले जिल्लाका सात वटै स्थानीय तह मिलेर अत्याधुनिक सुविधासम्पन्न फोहर फाल्ने ठाउँ बनाउने र त्यहाँ सङ्कलन हुने फोहरबाट आयआर्जनसमेत गर्न सकिने गरी योजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको सरावल गाउँपालिका अध्यक्ष चौधरी बताउनुहुन्छ ।

बढ्दो जनघनत्व र बजार विस्तारका कारण पश्चिम नवलपरासीमा फोहर बढदै छ । समयमै फोहर व्यवस्थापनको उचित उपाय पहिल्याउन नसके फोहर व्यवस्थापनको विषय जटिल बन्दै जाने स्थानीयवासी बताउँछन् । अहिले सबै स्थानीय तह बजेट र योजना तर्जुमा गर्दै गाउँ/नगरसभाको तयारीमा जुटिरहेकाले उचित बजेट विनियोजन गरी फोहोर व्यवस्थापन गर्नुपर्ने जिल्लावासीको माग छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>