चितवन विशेष

सकियो कृषि मेला, पाँच हजार बढीले गरे अवलोकन

Banner

चितवन,असार ४-

कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा भएको कृषि प्रदर्शनी तथा कृषक मेला मंगलबार सकिएको छ ।

मेलाको प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले समापन गरे । सो समारोहमा बोल्दै मन्त्री लामाले विश्वविद्यालयको शिक्षा किसानसम्म पुग्न नसकेको बताए । उनले उत्पादन र उत्पादकत्व बढाउन विश्वविद्यालयले उत्पादन गरेको जनशक्ती प्रयोग हुनुपर्ने बताए ।

मन्त्री लामाले कृषि क्षेत्रमा आममानिसको विश्वास जाग्न थालेको बताए । ‘नेपालको कृषि प्रणालिप्रति विश्वका मानिसको ध्यान केन्द्रित भएको छ,’ उनले भने ‘तर नेपालका युवाहरु अझै कृषिमा आकर्षित हुन सकेका छ्रैनन्, यो विडम्बनाको विषय हो ।’ उनले विदेशमा अध्ययन गरेका र सिप सिकेका नेपालीलाई नेपालमै फर्केर काम गर्ने वातावरण बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

कृषिमा आधारित अर्थतन्त्र र उद्योगबाट मात्रै आर्थिक समृद्धिको नयाँ युग सम्भव हुने मन्त्री लामाको भनाई थियो । उनले भने, ‘कृषिलाई आधुनिकीकरण नगरेसम्म विकासको स्वाद चाख्न पाइँदैन, देशको आर्थिक विकासका लागि कृषिलाई आधुनिकीकरण गर्नु अपरिहार्य छ ।’

विश्वविद्यालय स्थापनाको १० औँ वर्ष प्रवेशका अवसर पारेर शनिबारदेखि चार दिनसम्म विश्वविद्यालयको रामपुरस्थित कृषि सङ्कायको परिसरमा मेला आयोजना गरिएको थियो । मेलामा पाँच हजार बढी किसानले अबलोकन गरेको मेला सचिवालयका संयोजक प्रा.डा. अर्जुन श्रेष्ठले जानकारी दिए । मेलामा कृषिसँग सम्बन्धित ५० वटा स्टल रहेको थियो । ती स्टलहरुमा कृषि यान्त्रिकीकरण र कृषि पदार्थ, बीउबिजनको उत्पादक र बिक्रेता, कृषिमा सम्बन्धित बीमा कम्पनी र बैंक, कृषिको सूचना प्रविधि, कृषिसँग सम्बन्धित सरकारी र गैरसरकारी संस्था, नर्सरी र व्यावसायिक तरकारी बिक्रेताको सहभागिता रहेको थियो ।

मेलामा किसानले ल्याएको ७२ वटा नमूना माटो परीक्षण, ६० किराले ग्रसित बिरुवाको नमूना र ७५ रोगले ग्रसित बिरुवाको नमूना परीक्षण र निदान गरिएको छ । मेलाका स्टलमा २० हजारदेखि १५ लाखसम्म रुपैयाँको कारोबार भएको श्रेष्ठले जानकारी दिए ।

हरेक वर्ष आयोजना गर्ने गरी शुरु गरिएको मेलामा हरेक दिन चितवन र आसपासका क्षेत्रमा व्यावसायिक तरकारी र फलफूल खेतीमा देखापरेका समस्याका बारेमा अन्तरक्रिया समेत गरिएको थियो । सो अवसरमा कृषि वैज्ञानिकहरुसँग कृषकले प्रत्यक्ष रुपमा भेटेर आफ्नो समस्या राखेको विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले जानकारी दिए । अध्ययन–अनुसन्धान र प्रसारको काम गर्ने गरी २०६७ साल असारमा स्थापना भएको विश्वविद्यालयले अनुसन्धानका क्रममा प्राप्त गरेका उपलब्धिहरुलाई कृषकसमक्ष पु¥याउन मेला उपयोगी भएको उनले बताए ।

मेला समापन समारोहमा उत्कृष्ट स्टललाई सम्मान गरिएको छ । अर्गानिक फार्मस वेमेन ग्रुप काठमाडौं पहिलो,राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर दोस्रो र प्राङगारिक कृषि उत्पादन सहकारी संस्था फुलबारी तेस्रो भएका छन् । मेलामा रैथाने बालीहरुका बारेमा विज्ञ र किसानबीच अन्तरक्रिया समेत गरिएको थियो ।

मेलाको सहआयोजकमा भरतपुर महानगरपालिका, प्रदेश नं ३ र ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेका थिए भने प्रवद्र्धकमा उद्योग वाणिज्य संघ चितवन रहेको थियो । मेलाको सहयोगीमा कृषि ज्ञान केन्द्र चितवन र ललितपुर थिए । कृषि तथा वनविज्ञान विश्वविद्यालयले हरेक वर्ष गर्नुपर्ने कृषि मेला २०४५ सालबाट स्थगित हुँदै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>