देश/प्रदेश
युरोप भ्रमण अत्यन्त फलदायी : प्रधानमन्त्री ओली

काठमाडौँ असार १
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपबीचको सम्बन्ध विस्तारमा युरोप भ्रमण अत्यन्त फलदायी भएको बताएका छन।
अन्तरर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को स्वीट्जरल्याण्डको जेनेभामा आयोजित शतवार्षिकी समारोहलाई सम्बोधन तथा फ्रान्स र बेलायतको औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन ।
उनले भने, “हामी अत्यन्त सक्रिय रह्यौँ, हामीले हाम्रा नीति, उपलब्धि, आवश्यकता र आकाङ्क्षालाई सबै ठाउँमा सान्दर्भिक ढङ्गले सान्दर्भिक ठाउँमा कुरा उठाएका छौँ, अघि बढाएका छौँ ।”
नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता धेरै पुरानो भएकाले त्यसले आजको आवश्यकतालाई निर्देशन र नियमित गर्न नसक्ने जनाउँदै उक्त सम्झौतालाई पुनरावलोकन गरी द्विपक्षीय सहमतिका आधारमा अघि बढन चाहेको विचार र सोच बेलायतसँग राखेको उनले जानकारी दिए ।
एक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, “हामीले हाम्रा जहाज युरोपलगायत विश्वका जुनसुकै आकाशमा उडाउन प्रयत्न गरिरहेका छौँ । यो विषयमा भ्रमणका बेला सरोकारवालसँग गम्भीरताका साथ कुरा उठाएका छौँ ।” (रासस)