चितवन विशेष

चितवनमा बढ्यो कालोबजारी,खाद्यान्न र तरकारीको मूल्य आकाशियो

Banner

नारायणी अनलाइन डेस्क

चितवन, जेठ २६

चितवनमा दैनिक भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकाशिएको छ ।

चितवनमा कारोबार गर्दै आएका व्यापारी र उपभोक्ताका अनुसार तरकारी र खाद्यान्नको मूल्य उच्च बिन्दुमा पुगेको छ । कर्मचारीको तलब बढ्यो भन्ने बित्तिकै बजार भाउ बढाउने व्यापारीहरुको पुरानै मानसिकता देखिन्छ । भरतपुर वीरेन्द्र क्याम्पसका प्राध्यापक मनोज विष्टले चितवनमा तरकारी र खाद्यान्नको मूल्य आकाशिँदा नागरिक मर्कामा परेको बताए । उनले भने, ‘ अधिकांश व्यापारीहरुमा भ्रष्ट खालको सोच रहेको छ । उनीहरु मौका पाए भने कुम्ल्याई हाल्ने बानी परेको छ ।’ उनले बजेटको कार्यान्वयन साउन १ गतेबाट हुने भए पनि बजेट आउनुभन्दा अगाडि देखिनै व्यापारीहरुले मूल्य वृद्धि गरेको प्राध्यापक विष्टले बताए । बजारमा कृतिम अभाव सिर्जना गर्दै ठगी गर्ने क्रम बढेको उनले बताए । इन्टरनेट सेवा प्रदायकले पनि २० एमपीएस भन्ने तर कम क्षमताको इन्टरनेट दिएर ठगी गरिरहेको उनले बताए । उनले मूल्य नियन्त्रणको लागि राज्यको नियमनकारी निकायहरु सचेत र सजग रहनुपर्ने विचार राखे ।

भरतपुरको दूरसञ्चार रोडमा रहेको सक्षम किराना स्टोर्सका प्रोपाइटर नन्दलाल अधिकारीले बजेट भाषणपछि अघोषितरुपमा खाद्यान्न तथा पेय पदार्थको मूल्य वृद्धि भएको जानकारी दिए । उनका अनुसार चुरोटमा बट्टको १० रुपैयाँ, चामल बोरामा ५० रुपैयाँ, तेलमा लिटरको पाँच रुपैयाँ, कोकमा सानो बोत्तलको दुई रुपैयाँ बढेको छ ।

त्यस्तै फलफूल तथा तरकारी व्यवसायी संघ चितवनका कोषाध्यक्ष तथा तरकारी व्यवसायी रामराज पाण्डेले बजारमा टमाटर नपाइएको बताए । उनका अनुसार टमाटर किलोको ८० रुपैयाँ, बोडी र चिचिन्ना ३० देखि ५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । हाटबजार र तरकारीको खुद्रा पसलमा भने व्यापारीले तरकारीको मनपरी मूल्य लिइरहेको उपभोक्ता बताउँछन् । पारस बसपार्ककी उपभोक्ता निशा श्रेष्ठका अनुसार थोक बजारमा टमाटरको मूल्य ८० रुपैयाँ भनिए पनि बजारमा १०० रुपैयाँ घटी टमाटर भेट्न मुस्किल नै छ । किराना व्यवसायी संघ चितवनका कोषाध्यक्ष टेकप्रसाद पनेरुले सरकारको बजेट भाषणपछि मासको दाल, आटा र मसेउरामा मूल्य वृद्धि भएको बताए । उनले भने, ‘मासको दालमा प्रति किलो पाँच रुपैयाँ, आटामा पाँच रुपैयाँ र मसेउरामा प्रतिकिलो ८ रुपैयाँको दरले वृद्धि भएको छ ।

यसरी बजारमा मनपरी मूल्य वृद्धि हुँदा पनि सरकारी निगमनकारी निकायहरु मौन रहँदा सर्वसाधारणको आक्रोश पनि बढ्दै गएको छ । बसेनीका मजदुर रामबहादुर गुरुङले नारायणी अनलाइनलाई भने, ‘सरकारी कर्मचारीको पो तलब बढ्यो, हामी मजदुरलाई भने महंगीले जीवन निर्वाह गर्न नै नसक्ने भयो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>