चितवन विशेष
सातै प्रदेशमा सुविधा सम्पन्न रंगशाला बन्छ : खेलकुदमन्त्री विश्वकर्मा
चितवन, जेठ २५-
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बजेटमा खेलकूद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन नसकिएको बताएका छन् । आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले मन्त्रालयले १५ अर्ब रुपैयाँ बजेट माग गरेको भए पनि तीन अर्ब ९९ करोड रुपैयाँ पाएको बताए ।
स्रोत साधनको सीमाका कारण खेलकूद क्षेत्रमा जति बजेट विनियोजन हुनुपर्ने थियो त्यो हुन नसकेको उल्लेख गर्दै उनले खेलकूद क्षेत्रले अपेक्षा गरे अनुसारको बजेट विनियोजन नभएको जानकारी गराए । खेलकूद क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई बजेट कार्यक्रमका हिसाबले र नीतिगत हिसाबले मार्गदर्शन गरेको उनको भनाइ थियो ।
बजेट कम रहे पनि खेल क्षेत्रलाई प्राथमिकतामा नपारेको भन्ने कुरा यथार्थ नभएको उनले बताए । उनले राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सरकार योजनाबद्ध ढंगले अघि बढेको उल्लेख गरे । उनले भने, ‘खेल क्षेत्रले समृद्धि प्राप्त नगरेसम्म समृद्ध नेपाल बन्न सक्दैन, यसका लागि सरकार सातै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माणको काममा लागेको छ ।’ खेलकूद क्षेत्रमा देखिएको विवाद अन्त्य गर्दै अघि बढ्न सरकार लागि परेको उनले जानकारी दिए । सबै पक्ष एकताबद्ध भएर अघि बढ्न नसकेको खण्डमा खेल क्षेत्रको विकास सम्भव नभएकाले उनले आफूले जिम्मेवारी सम्हालेपछि सबै पक्षलाई एकताबद्ध हुन आह्वान गरेको बताए । रासस