इच्छकामना
गर्दासमा निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण

चितवन, जेठ २४–
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान–नेपाल चितवन शाखाले आज (शुक्रबार) श्री राष्ट्रिय मावि इच्छाकामना–७, गर्दासमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर गरेको छ ।
नेपाल नेत्रज्योति संघ चितवन, भरतपुर आँखा अस्पताल, तीनकन्या सामुदायिक वन उपभोक्ता समूह, नेपाल औषधि व्यवसायी संघ, लायन्स क्लव अफ नारायणढ र लायन्स क्लव अफ नारायणगढ मिड टाउनको संयुक्त आयोजनामा विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म भएको शिविरमा २१६ जनाको आँखा र स्वास्थ्य परीक्षण गराएको संस्थाका सचिव जिवि सुनारले जानकारी दिए । यस्तै सो क्रममा चार सय जना विद्यार्थीको दृष्टि परीक्षण गरिएको थियो । उनीहरुलाई चश्मा समेत वितरण गरिएको थियो ।
परीक्षणको क्रममा मोतियाबिन्दु देखिएका २६ जना बिरामीलाई नेपाल नेत्रज्योति संघले निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको कार्यक्रम संयोजक प्रतिष्ठानका संस्थापक अध्यक्ष एवंम् सल्लाहकार शान्त कुमार पियाले जानकारी दिए । संयोजक पियाले बिरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष लोकबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा आनन्द रञ्जित, कृष्ण भट्टराई, वसन्त लामा, रोशन खड्का, उपेन्द्र देवकोटा, मानबहादुर मगर, जुना डिसी, आयुष्मा केसीलगायत कार्यसमितिको सहभागिता रहेको थियो ।
























