चितवन विशेष
किर्तिमानी आरोही कामिरितालाई चितवनमा एक्सपर्टको सम्मान

चितवन, जेठ २३–
२४ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका साहसिक आरोही कामिरिता शेर्पालाई आज (विहीबार) चितवनमा सम्मान गरिएको छ ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले अष्ट्रेलियन एजुकेशन सेमिनारको अवसरमा पारेर आज भरतपुरमा सम्मान गरेको हो । उनलाई एक्सपर्टका सिईओ सन्जिव शर्मा, एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी र निर्देशक घननाथ अर्यालले फूलमाला र सम्मान पत्रले सम्मान गरेका थिए ।
सो क्रममा बोल्दै साहसिक आरोही शेर्पाले राज्यले आरोहीलाई सम्मान दिन नसकेको अवस्थामा एक्सपर्टले सम्झिएको भन्दै धन्यवाद दिए । उनले २४ पटक आरोहण गर्ने काम सामान्य नभएको भन्दै सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । उनले आगामि वर्ष भित्रमा अन्तिम पटक सगरमाथा आरोहण गर्ने इच्छा रहेको बताए ।
एक्सपर्टका सिईओ शर्माले किर्तिमानी आरोहीलाई एक्सपर्टले सम्मान गर्न पाउनु नै गौरवको कुरा भएको बताए । उनले जुनसुकै क्षेत्रका यस्ता व्यक्तिहरुलाई राज्यले सम्मानपूर्वक हेर्नुपर्ने बताए । सम्मान कार्यक्रम पश्चात अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई त्यहाँका युनिभर्सिटि तथा कलेजका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा जानकारी गराएका थिए ।
कामिरिताले जेठ ७ गते सगरमाथाको २४ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसको एक साताअघि पनि उनले सगरमाथाको सफल आरोहण गरेका थिए ।
लामो समयदेखि आरोहण क्षेत्रमा रहेका सोलुखुम्बु थामेका ४९ वर्षीय शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेर विश्व रेकर्ड समेत बनाएका हुन् । उनी सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए ।