चितवन विशेष

पीडितलाई आश्वासन नै आश्वसन, कार्यान्वयन फितलो

Banner

चितवन, जेठ २३–

चितवनको माडीमा भएको बाँदुरमुढे घटना आज १४ वर्ष पुगेको छ । वि.सं.२०६२ जेठ २३ गते तत्कालीन विद्रोही माओवादीले बाँदरमुढे खोलामा यात्रुबाहक बसमा शक्तिशाली एम्बुस पड्काउँदा ४२ जनाले ज्यान गुमाएका थिए । घटनामा ७२ जना घाइते बनेका थिए । यसमा पीडितलाई धेरै आश्वासन आए । तर, घटना भएको १४ वर्ष पुग्दा आजसम्म ती पीडितले आश्वासन कार्यान्वयन भएको पाएका छैनन् ।

द्वन्द्वकालको अन्त्यतिर भएको बाँदरमुढे घटनाले माओवादी निकै आलोचना बनेको थियो । पीडितका गुनासा सुनवाइ भएका छैनन् । पूर्वप्रधानमन्त्री तथा सरकारको नेतृत्व लिएको पार्टी नेकपाकै अध्यक्ष पुष्पकमल दाहालले सोही क्षेत्रबाट चुनाव जितेपनि पीडितले न्यायको महसुस गर्न पाएका छैनन् । एम्बुसमा परी घटनास्थलमा ३५ जना सर्वसाधारण, ३ जना नेपाली सेना र १ बालकले ज्यान गुमाएका थिए । पछि ३ जना घाइतेको उपचारकै क्रममा ज्यान गुम्यो । घटनामा अधिकांश माडीकै स्थानीय परे । १४ वर्ष पूरा भएपनि पीडितका गुनासा पहिलेकै जस्तै छन् । “यसपालिको बजेटमा पनि बाँदरमुढे घटनालाई बेवास्ता गरियो”, बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले भने, “न्याय र परिपुरणको व्यवस्थाको पखाईमा छौं ।”

२०७४ मंसिरमा तत्कालीन नेकपा माओवादी केन्द्र र पीडितबीच भएको लिखित प्रतिबद्धता कार्यान्वयनमा आएको छैन । मृतक तथा घाइतेका आश्रित परिवारलाई रोजगारी तथा स्वरोजगार, जीवनवृत्ति, बालबालिकालाई पठनपानको व्यवस्था गर्ने उल्लेख थियो । घाइतेको अवस्था हेरी औषधि उपचारको व्यवस्था गर्ने उल्लेख थियो ।

मृतकको सम्झनामा बाँदरमुढे क्षेत्रमा १० विघामा स्मारक, ऐतिहासिक नमूना संग्राहलय, चिडियाघर बनाएर पर्यटकीयस्थल बनाउने समझदारी भएको थियो । समझदारी गर्दा भूमिका खेलेका पीडित समितिका तत्कालीन कोषाध्यक्ष सुदीप न्युरेले तीन बुँदे सहमति पालना गर्न आग्रह गरे । “सकारात्मक सहमति थियो, काम हुनुपर्छ”, उनले भने, “बजेटमा परेन, माडी आउँदा प्रचण्डबाट सधैं सम्बोधन गर्ने आश्वासन पाएका छौँ, व्यवहारमा पनि देख्न पाइयोस् ।”

प्रचण्डले चुनावका बेला जारी गरेको प्रतिबद्धतापत्रमा ‘जनयुद्धका क्रममा पार्टीको भुलवश भएको बाँदरमुढे दुर्घटनामा दिवंगतको चिरस्मरणमा एक पार्क निर्माण गरिने’ उल्लेख थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले बाँदरमुढे घटनामा ज्यान गुमाएकालाई शहीद घोषणा गरेको थियो । प्रचण्डले २ महिना पहिले माडी क्याम्पसको सभामा बोल्दै ‘पीडित जनताको लागि मैले प्रतिवद्धता व्यक्त गरेको छु, अहिलेको बजेटमा त्यो प्रतिवद्धता अनुसारका योजना पर्नेछन्’ भनेर अभिव्यक्ति दिएका थिए ।

घटनाका पीडित कृष्ण अधिकारीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई दुईपटक प्रधानमन्त्री बन्दा पनि आफूहरुले न्याय पाउन नसकेको बताए । उनले भने–“सहमति पनि पालनको भएको छैन, हामी न्यायको महसुस पनि गर्न सकेका छैनौं ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>