चितवन विशेष

चितवनमा काठको माग बढ्यो, वन पैदावार आपूर्ति समितिमा मात्र एक हजार बढी निवेदन

Banner

आशिष उप्रेती

चितवन, जेठ १–

चितवनमा शहरीकरण बढेसँगै पछिल्लो समयमा काठको माग ह्वात्तै बढेको छ ।

जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले आम सर्वसाधारणको मागअनुसार काठ उपलब्ध गराउन नसकिएको बताए । उनले भने वार्षिक झण्डै दुई लाख क्युफिट काठको माग रहे पनि वार्षिक ५० हजार क्युफिट काठ पनि वन कार्यालयबाट उपलब्ध गराउन नसकिएको बताए । उनले हरेक वर्ष काठको माग बढ्दै गएको नारायणी अनलाइनलाई बताए ।

जिल्ला वन पैदावार आपूर्ति समिति चितवनले नागरिकको माग अनुसार निजी फर्निचरमा महंगो मूल्यमा काठ किन्नुपर्ने हँदा सर्वसाधारणलाई सहजताको लागि सहुलियत दरमा समितिले हरेक वर्ष सालको चिरान गरेको काठ बिक्री वितरण गर्दै आइरहेको छ । त्यसैगरी चितवन टिम्बर कर्पौरेसनले पनि निजी काठ उद्योगको तुलनामा सस्तो दरमा काठ वितरण गर्दै आएको छ । टिम्बर कर्पोरेसन चितवनका प्रमुख विमल पन्तले सर्वसाधारणको माग अनुसार काठ पु¥याउन मुस्किल पर्ने गरेको बताए । टिम्बर कर्पोरेसनबाट वार्षिक ३० हजार क्युफिट जति काठ वितरण गरिएको उनले नारायणी अनलाइनलाई जानकारी दिए । उनले निजी काठ उद्योगबाट भन्दा कर्पौरेसनबाट केही सस्तो पर्ने बताए । कर्पोरेसनमा उपलब्ध काठ अनुसार सर्वसाधारणको आवेदन माग गरिने उनले बताए ।

जिल्ला वन पैदावार आपूर्ति समिति चितवनले घरको प्रयोजनको लागि, विकास निर्माणको प्रयोजनको लागि र दैविक प्रकोपको प्रयोजनको लागि चिरान गरेको सालको काठ बिक्री वितरण गर्दै आइरहेको छ । आपूर्ति समितिले घर निर्माणको लागि, विकास निर्माणको लागि र दैविक प्रकोपको लागि चालु आर्थिक वर्ष ०७५्०७६ को गत शुक्रबारसम्म ९ हजार ३९४ दशमलब ९ क्युफिट चिरान गरेको सालको काठ बिक्री गरिसकेको जिल्ला वन पैदावार आपूर्ति समिति चितवनका सदस्य सचिव कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

चालु आर्थिक वर्ष ०७५/७६ को गत शुक्रबारसम्म घर निर्माणको लागि ३३४ जनालाई सात हजार ८६० दशमलब १८ क्युफिट चिरान गरेको सालको काठ बिक्री वितरण गरिसकेको छ । त्यसैगरी चालु आर्थिक वर्ष ०७५/७६ को गत शुक्रबारसम्म विकास निर्माणअन्तर्गत सामुदायिक विद्यालय, सरकारी विद्यालय र मठ मन्दिर एवम् सामाजिक विकासका १० वटा संस्थालाई ४८९ दशमलब ७७ क्युफिट र दैवी प्रकोपअन्तर्गत भूकम्पपीडित र आगालागीबाट पीडित भएकाहरु जम्मा ४७ जनालाई एक हजार ४४ दशमलब १४ क्युफिट चिरान गरेको सालको काठ बिक्री वितरण गरिसकेको उनले बताए । जसमध्ये ३६ जना भूकम्पपीडितले ९०८ दशमलब ५७ क्युफिट र ११ जना आगालागीबाट पीडित भएकाहरुले १३५ दशमलब ५७ क्युफिट चिरान गरेको सालको काठ पाएको बताए । भूकम्पपीडितले प्रतिब्यक्ति २५ क्युफिट काठ पाउने ब्यवस्था रहेको थियो भने आगालागीबाट पीडित भएकाहरुले प्रतिब्यक्ति साढे १२ क्युफिट काठ पाउने ब्यवस्था रहेको थियो ।

अहिले चालू आर्थिक वर्ष ०७५्०७६ को लागि घरकाज र विकास निर्माणको प्रयोजनको लागि प्रति क्युफिट सालको काठको खुद बिक्री मूल्य ३४५ रुपैयाँ (मूल्य अभिवृद्धि कर सहित) रहेको छ । त्यसैगरी दैवी प्रकोपको प्रयोजनको लागि प्रति क्युफिट खुद बिक्री मूल्य एक हजार २६५ दशमलब ६० रुपैयाँ (मूल्य अभिवृद्धि करसहित), बेसाइज काठको प्रति क्विन्टल खुद बिक्री मूल्य तीन हजार १०० रुपैयाँ (मूल्य अभिवृद्धि कर सहित) र बाकल काठको प्रति क्विन्टल खुद बिक्री मूल्य ७०० रुपैयाँ (मूल्य अभिवृद्धि करसहित) रहेको छ ।

जिल्ला वन पैदावार आपूर्ति समिति चितवनले घर काजको प्रयोजनको लागि सोमबार र बिहीबार, विकास निर्माण र दैवी प्रकोपको प्रयोजनको लागि शुक्रबार, बेसाइजको काठ मंगलबार र बाकल हुने काठ आइतबार तालिका बनाएर बाड्ने गरेको छ । घर काजको लागि काठ पाउनको लागि २०७५ माघ २२ गतेदेखि फागुन ७ गतेसम्म सूचना प्रकाशित गरेको र भूकम्प पीडितको लागि भने २०७५ माघ २२ गतेदेखि चैत मसान्तसम्म सूचना प्रकाशित गरेको थियो । विकास निर्माणको लागि भने वन पैदावार आपूर्ति समितिमा काठ भइन्जेल सालको काठ बिक्री वितरण गरिरहने जिल्ला वन पैदावार आपूर्ति समिति चितवनका सदस्य सचिव कृष्णप्रसाद अधिकारीले बताए ।

उनका अनुसार गत चैत मसान्तसम्ममा काठ पाउनको लागि एक हजार ११२ जनाको निवेदन परेको छ । गत आर्थिक वर्ष ०७४/०७५ मा एक हजार १८१ जनाको निवेदन परेको थियो । जसमा घर काजको लागि र भूकम्पपीडितको धेरै निवेदन परेको थियो । गत वर्ष ४३ हजार क्युफिट चिरान गरेको सालको काठ बिक्री वितरण गरेको उनले बताए ।समितिले चैत महिनाबाट सुरु गरेको सालको काठ बिक्री वितरण गर्ने कार्यक्रम आउँदो यही असार मसान्तसम्ममा वितरण गरिरहने छ । यस वर्ष भने ५० हजार क्युफिट गोलिया काठलाई चिरान गरी बाड्ने लक्ष्य रहेको जिल्ला वन पैदावार आपूर्ति समिति चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>