प्रचलन

एकाबिहानै भूकम्पले अत्यायो, १ को मृत्यु

Banner

बैशाख २२, २०७६

सोमबार बिहानको भूकम्पको पराकम्पका कारण अमादब्लम हिमाल आरोहणमा गएका लाक्पा थिन्बु शेर्पाको मृत्यु भएको छ। सो हिमाल आरोहणका क्रममा माथिबाट ढुंगासहितको ढिस्को खस्दा घाइते भएका शेर्पाको मृत्यु भएको हो।

पराकम्पपछि ढुंगा खसेर टाउकोमा चोट लागेका शेर्पाको उद्धारका क्रममा निधन भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो। ‘भूकम्पपछि खसेको चट्टान लाग्दा गम्भीर घाइते भएका खुम्जुङ गाविस पाङ्बोचे घर भएका लाक्पाको निधन भएको हो, कम्पनपछि माथिबाट ढिस्को खस्दा उनलाई चट्टानले लागेको खबर आएको छ।’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

एउटा हातसमेत भाँचिएका शेर्पालाई उद्धार गरेर नाम्चे ल्याएपछि मृत घोषित गरिएको थियो। सो घटनामा अमादब्लम आरोहणका लागि गएका एक ब्रिटिस नागरिकको ढाडमा चोट लागेपछि उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ।

घाइते ब्रिटिस नागरिकको लैनचौरस्थित सिविक क्लिनिकमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको ट्रेकिङ एजेन्सी हिमालयन गाइड्सका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिनुभयो। १२ जना विदेशीसहित ७ जना शेर्पाको टोली पौडेलको एजेन्सीमार्फत अमादब्लम आरोहरणका लागि गएको थियो।

‘क्याम्प थ्रीमा ठ्याक्कै पुगेको टोलीलाई माथिबाट खसेको ढिस्को र ढुंगाले दुःख दियो’, पौडेलले भन्नुभयो– ‘खसेको ढिस्कोले आरोहीलाई १ सय फिट तल पुर्याएको थियो।’ उहाँका अनुसार क्याम्प थ्रीमा रहेका अन्य टोली भने त्यहीं सुरक्षित रहेका छन्। सोमबारको पराकम्पपछि सोलुखुम्बुकै लुक्ला बजार क्षेत्रका दुईवटा घर भत्किए पनि त्यहाँ मानवीय क्षति भने नभएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो। सोमबार बिहान ५ बजेर २० मिनेटमा सोलुखुम्बु, रामेछाप र दोलखाको सीमा क्षेत्र केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। अन्य जिल्लाको भौतिक र मानवीय क्षतिको विवरण भने सोमबार साँझसम्म प्राप्त नभएको गृह मन्त्रालयले जनाएको छ।

भूकम्पको केन्द्रविन्दु तीनवटै जिल्लाको सीमा क्षेत्रबाट ३ किलोमिटर उत्तरपूर्वी भेगमा रहेको भूकम्प मापन केन्द्रका सिस्मोलोजिस्ट भरत कोइरालाले जानकारी दिनुभयो। पराकम्प काठमाडौं उपत्यकासहित आसपासका जिल्ला र पूर्वी भेगमा महसुस गरिएको थियो। ‘भूकम्पको केन्द्रविन्दु र क्षमता कस्तो हो भनेर ताप्लेजुङबाट समेत केन्द्रमा फोन आयो।’ –कोइरालाले भन्नुभयो। सोमबारको पराकम्पसँगै डेढ वर्षअघि गोरखा भूकम्पपछि ४ रेक्टर स्केलभन्दा माथिका ४ सय ७५ वटा पराकम्प गइसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>