राजनीति

के ओली-देउवा सम्बन्ध तिक्ततापूर्ण छ?

Banner

१८ वैशाख, हेटाैंडा

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा कांग्रेस सांसद प्रदीप गिरिले पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच तिक्तता बढेको बताए।

नेपालको संसदीय इतिहासमै सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध यति कमजोर नभएको उनको भनाइ छ।

‘सत्तापक्ष र प्रतिपक्षीबीच यति नराम्रो सम्बन्ध भएको देखेको थिएनँ,’ गिरिले भने, ‘प्रधानमन्त्री र विपक्षी दलको नेताको कोठा सँगसँगै (संसद भवनमा) छ। यिनीहरुको भेट भै राखोस् भनेर होला। तर अहिलेको परिस्थितिमा एउटाको बैठक सिंहदरबारमा एउटाको बैठक यहाँ (बानेश्वर संसद भवन)मा राखेको हुन्छ।’

गिरिले प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग सम्बन्ध सुधार्न नीति तथा कार्यक्रममा कांग्रेसको संशोधन मतदान नै गरी स्वीकार्न सुझाव दिए।

गिरीले भनेजस्तै सत्तापक्ष र प्रतिपक्षीबीच सम्बन्ध सुध्रिएको देखिएन बरू मंगलबारको संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच घम्साघम्सीको अवस्था बन्यो। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निम्छरा’ शब्दले कांग्रेसको चित्तमात्र दुखेन संसदीय दलका नेता देउवासहित सांसदहरू सिटबाट उठेर विरोध जनाए।

संसद बैठकको लाइभ भिडिओ हेर्दा लाग्थ्यो- प्रधानमन्त्री ओली र प्रतिपक्षी कांग्रेसका सांसद रिसले चुर छन्। एक्लाएक्लै भेट्दा त आपसमा बोल्दा पनि बोल्दैनन् होला। तर टेलिभिजनमा देखिने यी दृश्यले मात्र भने प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवाको सम्बन्धको समग्र चित्र झल्कँदैन।

मंगलबार संसदमा भएको घम्साघम्सीपछि ओलीले संसद भवनको बैठकबाट बाहिरनु अघि देउवालाई बोलाएर केहीबेर कुराकानी गरे।

कांग्रेस सांसद अमरेशकुमार सिंहले ओली र देउवाबीच भलाकुसारी भएको उल्लेख गरे।

‘प्रधानमन्त्रीले प्रश्न सोधेपछि कम्तिमा जवाफ त सुन्नुपर्छ भन्नुभयो,’ सिंहले सेतोपाटीसँग भने, ‘देउवाले पनि कम्तिमा संसदको मर्यादा त राख्नस् भनुन्भयो।’

त्यसअघि राष्ट्रपतिले संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको दिनको दोस्रो बैठकमा ओली र देउवाको व्यवहार देखेर संसद हाँसो फैलिएको थियो। संसदको रोष्ट्रममा राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रम टेबल गर्न जाँदा ओलीले देउवासँग भएको नीति तथा कार्यक्रमको पुस्तिका बोकेर गए। ओलीको व्यवहार देखेर कांग्रेसका नेताहरूमात्र हाँसेनन्, सत्तापक्षकै सांसदहरुको मुहार चम्कियो।

देउवाका सहयोगी भानु देउवा प्रधानमन्त्री ओलीसँग प्रतिपक्षी दलका नेताको सम्बन्ध तिक्ततापूर्ण नरहेको बताउँछन्।

‘राजनीतिक विषय एकातर्फ छ। तर साथसाथै भेटघाट भैराखेकै छ,’ उनले सेतोपाटीसँग भने, ‘दुई दिनअघि बालुवाटारमा बिहान भेटघाट र छलफल भयो।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>