राजनीति

बालुवाटार जग्गा प्रकरणमा रुक्मशमसेरदेखि प्रधानमन्त्री केपी ओलीसम्म

Banner

१८ वैशाख, हेटाैंडा

बालुवाटार जग्गा अपचलन प्रकरणका धेरै पाटा खुलेका छन्, केही खुल्न बाँकी छन्। अहिलेसम्म हामीलाई थाहा भएका र थाहा हुन बाँकी पाटाहरू समेटेर यो विस्तृत ब्रिफिङ तयार पारेका छौं।

यो ब्रिफिङ कर्ताप्रधान छ। अर्थात्, यस प्रकरणमा सुरूदेखि अहिलेसम्म क-कसले के गरे वा के गरेनन् वा कसले के भूमिका खेले भनेर हामीले लेखेका छौं।

पछिल्लोपटक मिडियामा आफ्नो दाबी पेस गरेका रुक्मशमसेर राणादेखि कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, शोभाकान्त ढकाल, रामकुमार सुवेदी, विष्णु पौडेल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, गृहसचिव प्रेमकुमार राई, शारदाप्रसाद त्रिताल र प्रधानमन्त्री केपी ओलीसम्मको भूमिकाबारे विस्तृतमा लेखेका छौं।

कर्ताप्रधान ब्रिफिङबाट पाठकहरूलाई कसले के सकारात्मक वा नकारात्मक भूमिका खेले वा खेलिरहेका छन् भन्ने बुझ्न सजिलो हुनेछ।

सुरू गरौं, रुक्मशमसेर राणाबाट।

बालुवाटार जग्गा अपचलन प्रकरण धेरै चर्चामा आएपछि र मिडियाले लगातार लेखेपछि पछिल्लोपटक रुक्मशमसेर राणाले आफू र आफ्नो परिवारको बचाउ गरेका छन्।

रुक्मशमसेर सुवर्णशमसेरका छोरा हुन्। नेपाली कांग्रेसका नेता सुवर्णशमसेर राणा र उनको परिवारका नाममा रहेको २९९ रोपनी ९ आना जग्गालाई ‘ललिता निवास’ परिसर भन्ने गरिन्थ्यो। त्यही ललिता निवास परिसरको जग्गामा बालुवाटारको प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास, सभामुख निवास र राष्ट्र बैंक कार्यालय छ भने केही जग्गा खाली छ।

केपी ओली सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठन गरेको समितिका अनुसार सुवर्णशमसेरका नाममा रहेको १४ रोपनी ११ आना जग्गा पञ्चायतले २०१८ सालमा जफत गरेको थियो। बाँकी २८५ रोपनी १४ आना जग्गा भूमिसुधार ऐन लागू भएपछि २०२१ सालमा अधिग्रहण गरियो।

पञ्चायतले सरकारी प्रयोगका लागि निजी जग्गा अधिग्रहण गर्न २०१८ सालमै जग्गा प्राप्ति ऐन ल्याएको थियो।

रुक्मशमसेरले अहिले सार्वजनिक रूपमा मुख्यत: तीनवटा दाबी गरेका छन्।

एक, सुवर्णशमसेरको परिवारको जग्गा पञ्चायतले अधिग्रहण गरेको हैन, सबै जफत गरेको हो। उनको परिवारले अधिग्रहणबापत कुनै क्षतिपूर्ति पाएको छैन। पाएको भए सरकारले प्रमाण देखाओस्।

दुई, सरकारले २०४७ सालमा जग्गा फिर्ता दिने निर्णय गरेपछि सोही निर्णयअनुसार राणा परिवारले जग्गा प्राप्त गरेर बेचेको हो। जग्गा अपचलन गर्ने कुनै बदमासी आफूहरूले नगरेको उनीहरूको दाबी छ।

तीन, आफ्नो परिवारले फिर्ता पाएको जग्गाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला अदालत र सर्वोच्च अदालतसमेतमा मुद्दा परी आफ्नै पक्षमा फैसला भइसकेको हो। अहिले फेरि छानबिन समिति बनाएर अन्यायपूर्ण रूपमा जग्गा हड्पेको उनको आरोप छ।

त्रिताल समितिले लामो अनुसन्धान गरेर बालुवाटारको जग्गासम्बन्धी आजभन्दा पहिले बाहिर नआएका तथ्य स्थापित गरेको छ।

सुवर्णशमसेर राणाको १४ रोपनीबाहेक उनको परिवारको नाममा रहेको २८५ रोपनी जग्गा सरकारले राजपत्रमा सूचना निकालेर अधिग्रहण गरेको हो। क्षतिपूर्ति लिन आउनू भनेर गोरखापत्रमा पटक-पटक सूचना प्रकाशित भएको प्रमाण त्रिताल आयोगले फेला पारेको छ। एउटै सूचनामार्फत् अधिग्रहण गरिएका राणाका अरू दरबारबापत् सम्बन्धित परिवारले क्षतिपूर्ति लिएको प्रमाण पनि जुटाएको छ।

सुवर्णशमसेरका सबै परिवारले क्षतिपूर्ति लिएको प्रमाण भने त्रिताल आयोगले जुटाउन सकेको छैन। तर, पञ्चायत सरकारले पटक-पटक सूचना प्रकाशित गरेर क्षतिपूर्ति लिन आउनू भनेको तथ्य उसले स्थापित गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>