Breaking News
युद्धविरामको दुई वर्षपछि पनि दक्षिणी लेबनानमा विनाश, ६५ गाउँ ध्वस्त

एजेन्सी, मंसिर ११ –
लेबनान–इजरायल युद्धविराम लागू भएको दुई वर्ष बितिसक्दा पनि युद्ध पूर्ण रूपमा रोकिएको छैन ।
इजरायली हवाई आक्रमण र विस्तार हुँदै गएको ‘येलो लाइन’का कारण दक्षिणी लेबनानका करिब ६५ वटा बस्ती लगभग पूर्ण रूपमा ध्वस्त भएका छन् भने स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कनसमेत असमर्थ भएका छन्।
सन् २०२४ नोभेम्बर २७ मा युद्धविराम सम्झौता औपचारिक रूपमा लागू भएको थियो। तर, त्यसपछि पनि हिंसात्मक गतिविधि रोकिएन। यस वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध ठूलो स्तरको सैन्य कारबाही सुरु गरे। इरानको प्रमुख क्षेत्रीय सहयोगीका रूपमा रहेको लेबनानको सशस्त्र समूह हिजबुल्लाहले मार्च २ को साँझ उत्तरी इजरायलतर्फ रकेट प्रहार गर्न थालेपछि इजरायलले लेबनानको राजधानी बेरुत र दक्षिणी लेबनानमा हवाई आक्रमण सुरु गर्यो।
यसै वर्षको मे महिनामा इजरायली सेनाले पुनः दक्षिणी लेबनानमा आक्रमण गर्यो। संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार यस वर्ष अक्टोबर २० सम्म दक्षिणी लेबनानका करिब ६५ वटा बस्ती लगभग पूर्ण रूपमा ध्वस्त भएका छन् र त्यहाँ पुग्नसमेत कठिन भएको छ।
लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम शान्ति सेना (युनिफिल) ले यसै महिना सार्वजनिक गरेको प्रतिवेदनमा निरन्तर जारी सैन्य कारबाही तथा आवासीय भवन र पूर्वाधारमा भएको व्यापक क्षतिका कारण स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कन नसकेको जनाएको छ।
दक्षिणी लेबनानको टायर क्षेत्रस्थित हिनियाह गाउँका ६२ वर्षीय अहमद अबुस गाउँ प्रमुख हुन्।
उनले आफ्नो घरको पहिलो तलामा रहेको बैठक कोठालाई कार्यालयमा परिणत गरेका छन्। जहाँबाट उनी दैनिक गाउँका कामकाज सञ्चालन गर्नुका साथै स्थानीय बासिन्दाका विभिन्न कागजातसम्बन्धी काम गर्छन्।
लेबनान र इजरायलबीच विगतमा भएका विभिन्न चरणका द्वन्द्वका क्रममा हिनियाह गाउँ पटक–पटक इजरायली हवाई आक्रमणको निशानामा परेको थियो। जसका कारण गाउँमा ठूलो क्षति पुगेको छ।
‘वास्तवमा हाम्रो गाउँका करिब ६० प्रतिशत घर हवाई आक्रमणमा ध्वस्त भएका छन्। अहिले गाउँका करिब ३० प्रतिशत बासिन्दा मात्रै फर्किएका छन्,’ उनले भने।
अबुसका अनुसार अझै पनि धेरै गाउँले आफ्नो घर फर्कन सकेका छैनन्।
यस वर्ष मार्चमा पुनः युद्ध सुरु भएपछि आफ्ना सामान लिन तीन जना गाउँले ज्यानको जोखिम मोलेर गाउँ फर्किएका थिए। तर, उनीहरू इजरायली हवाई आक्रमणमा परी दुःखद रूपमा मारिए।
यस द्वन्द्वमा गाउँ प्रमुखको जस्तै सबैको घर सुरक्षित रहन वा पुनर्निर्माण हुन सकेको छैन।
कुनै समय दुई तले सानो भवनका रूपमा रहेको उनको घर इजरायली सेनाको आक्रमणबाट पूर्ण रूपमा ध्वस्त भएको छ।
अहिले त्यहाँ बाहिर निस्किएका र बाङ्गिएका फलामका छड तथा पानीका पाइपहरू र विगतमा त्यहाँ मानिसहरूको जीवन रहेको प्रमाण दिने केही भग्नावशेष मात्रै बाँकी छन्।
द्वन्द्वका क्रममा आईडीएफले सन् २००० मा संयुक्त राष्ट्रसंघले निर्धारण गरेको लेबनान र इजरायलबीचको सीमारेखा ‘ब्लु लाइन’ बाट निरन्तर उत्तरतर्फ आफ्नो नियन्त्रण विस्तार गर्दै दक्षिणी लेबनानका गाउँहरूलाई योजनाबद्ध रूपमा एकपछि अर्को गर्दै ध्वस्त पारिरहेको छ।
पहाडी क्षेत्रका वनस्पति नष्ट भएका छन् भने अधिकांश घरहरू भत्काइएका छन्। यसका कारण स्थानीय बासिन्दाहरू आफ्नो घर फर्कन असमर्थ भएका छन्।
यता, पहाडपारिबाट आईडीएफको तोपखानाको निरन्तर गडगडाहट सुनिने गरेको छ।
दक्षिणी लेबनानको टायर क्षेत्रको दक्षिणमा अवस्थित मान्सुरी इजरायली आक्रमणबाट सबैभन्दा बढी प्रभावित गाउँहरूमध्ये एक हो।
यस तटीय गाउँका घर, विद्यालय, अस्पताललगायत अन्य भवनहरूमा समेत ठूलो क्षति पुगेको छ।
यस वर्ष मे महिनामा लेबनानका प्रधानमन्त्री नवाफ सलामले इजरायलले दक्षिणी लेबनानमा ‘स्कच्र्ड अर्थ पोलिसी’ अर्थात् ‘जलेको जमिनको नीति’ लागू गरिरहेको आरोप लगाएका थिए। उनले इजरायलले सहर तथा गाउँहरू ध्वस्त पार्दै बासिन्दाहरूलाई आफ्नो घर छाड्न बाध्य बनाएको बताएका थिए। सीसीटीभीप्लस


























