राजनीति
चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न कांग्रेसले निर्वाचन आयोगलाई पत्राचार गर्ने

काठमाडौँ, मंसिर १०-
नेपाली कांग्रेसले पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डाको दुरुपयोग भएको भन्दै निर्वाचन आयोगलाई पत्राचार गर्ने भएको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले अधिवेशनका नाममा पार्टीको चुनाव चिह्न रुख तथा चारतारे झण्डाको दुरुपयोग गरेको भन्दै कांग्रेसले आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगबाट पार्टीको आधिकारिक विवरण अद्यावधिक गर्ने प्रक्रिया पूरा भइसकेकाले झण्डा र चुनाव चिह्नको दुरुपयोग रोक्न औपचारिक पत्र पठाउने निर्णय गरेको हो ।
कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले पार्टीको झण्डा र चुनाव चिह्न दुरुपयोग भएको विषयमा पार्टी सचेत रहेको बताए । उनले भने, “झण्डा दुरुपयोग भएको नोटिस भएको छ । हामीले वैधानिक प्रक्रियाले रोकेका थियौँ । निर्वाचन आयोगले अद्यावधिक गरिसकेको छ । अब दुरुपयोग नगर्न सचेत गराउँछौँ । यसबारे सूचना सार्वजनिक गर्छौँ । निर्वाचन आयोगलाई पनि पत्राचार गर्ने निर्णय भएको छ ।”
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले केन्द्रीय कार्यसमिति बैठकका निर्णय शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गरेका कामकारबाही, भोटेकोशी बाढी, सुकुम्बासी समस्या तथा स्थानीय तहको निर्वाचनलगायतका विषयमा पनि निर्णय भएका छन् । ती विषयमा भएका निर्णय भने औपचारिक पत्रकार सम्मेलनमार्फत महामन्त्रीहरूले सार्वजनिक गर्ने सहमहामन्त्री शिवाकोटीले जानकारी दिए ।


























